पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याएका छौ

देशको संघीय शासन प्रणालीअनुरूप १ नं. प्रदेशअन्तर्गत मध्यपहाडी भागमा अवस्थित तेह्रथुम जिल्लाका ६ वटा स्थानीय तहमध्येको एक स्थानीय तहका रूपमा रहेको छथर गाउँपालिका कुल १ सय ३३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । साबिकका आङ्दिम, हमरजुङ, फाक्चामारा, पञ्चकन्या, ओख्रे र सुदाप गरी ६ वटा गाविस मिलेर बनेको यो गाउँपालिकामा ६ वटा वडा र कुल १६ हजार ७ सय २५ जनसंख्या रहेको छ । यसको भौगोलिक अवस्थिति समुद्री सतहबाट ३ सय २२ मिटर उचाइदेखि २ हजार ५ सय ५० मिटर र गाउँपालिकाको केन्द्र २७००३’३१” उत्तरी अक्षांश र ८७०२७’०१” पूर्वी देशान्तर रहेको छ भने यस गाउँपालिकाको पूर्वमा तमोर नदी तथा पाँचथर जिल्ला, पश्चिममा धनकुटा जिल्ला, उत्तरमा लालीगुराँस नपा तथा म्याङ्लुङ नपा र दक्षिणमा धनकुटा जिल्ला पर्छ ।
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँहरू आधारभूत आवश्यकताबाट दूरीका हिसाबले टाढा मात्रै हैन, गरिबी, अभाव, बेरोजगारी, अशिक्षा, रोग, शोक र भोकका समस्याले थलिएका पनि हुन्छन् । गाउँमा सहरहरूको तुलनामा राम्रा विद्यालयहरूको कमी छ । उच्च शिक्षा अध्ययनका लागि गुणस्तरीय शिक्षालयहरूको स्वाभाविक रूपमा कमी छ । स्वास्थ्य उपचारको भरपर्दो सुविधा, बाटोघाटो, खानेपानी र रोजगारीको अभाव छँदै छ । राजनीतिक अस्थिरता, दलीय टकराव, असमझदारी, गाउँबाट सहर तथा वैदेशिक रोजगारीमा युवा पलायनजस्ता समस्याहरू ग्रामीण भेगका स्थानीय तहहरूको विकासमा बाधक बन्दै आएका छन् । गाउँमा कुटो, कोदालो, हलो, जुवा, भारी, गोठालो, खेतालो र भकारो आदि यहाँको दैनिकी हो । बौद्घिक पलायन पनि उत्तिकै छ । बेरोजगारी, अभाव, निराशा र अवसरको कमीले युवाहरू अलमलिने र गाउँहरू बूढाबूढी र केटाकेटीका बस्तीका रूपमा रूपान्तरित हुँदै छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँहरू खोलानाला, छहरा, पहरा, वनपाखा, हिमाल, भन्ज्याङ, तालतलैया आदिले सुन्दर छन् । मनमोहक उत्तिकै छन् । विभिन्न जातजाति, भाषाभाषी, वर्ग समुदायसँग जोडिएको आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षहरू उत्तिकै गाउँभरि छरिएर सजिएका छन् । गाउँमा उपलब्ध हुन सक्ने जमिन, जल, जडीबुटी, जंगल र जवानीको उपयोग र पर्यटनको विकास नै गाउँ विकासका मुहान हुन् । यी उपलब्ध प्राकृतिक सम्पदाहरूलाई सदुपयोग गर्दै गरिबी, अशिक्षा, अभाव, पछौटेपनले सताइएका ग्रामीण बस्तीहरूमा यातायात, बिजुली, खानेपानी, सञ्चारजस्ता आधारभूत आवश्यकताहरूका लागि योजनाबद्घ काम गर्न दिगो विकास लक्ष्यमा आधारित रही नेपाल सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न ग्रामीण क्षेत्रका स्थानीय तहहरूको प्रयास जारी छ, जुन प्रयासका कारण गाउँगाउँमा विकास र सरकारको अनुभूति ग्रामीण क्षेत्रका नागरिकले पनि गर्न थालेका छन् । यी र यस्तै समस्याका बीचमा विकासले गति लिँदै गरेको तेह्रथुमको छथर गाउँपालिका अध्यक्ष लिम्बूसँग कारोबार संवाददाता प्रकाश पाक्साँवाले गरेको कुराकानीको सार :
तपाईंले आफ्नो कार्यकालमा के–के गर्नुभयो ?
छथर गाउँपालिकाका केही भूभाग तेह्रथुम जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्छन् । उक्त बस्तीहरूमा स्थानीय तहको निर्वाचनपूर्व तमोरबाट तीन घण्टादेखि पाँच घण्टा लगाएर एक गाग्रो पानी बोकेर मानिसलगायत वस्तुभाउ बचाउने अवस्था थियो । तर, स्थानीय तहको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिहरूको पहलमा उक्त क्षेत्रमा पञ्चायतकालबाट अधुरा रहेका खानेपानी योजनाहरू पूरा गर्दै नयाँ खानेपानीका स्रोतहरू पहिचान गरी योजना सञ्चालन गरेर घरघरमा खानेपानीको आपूर्ति गरिएको छ । स्थानीय निर्वाचनअघि कच्ची सडक ट्र्याक मात्र गाउँपालिकाको केन्द्र शुक्रबारे बजारसम्म जोडिएकाले हिउँदको समयमा मात्र सामान्य सवारी साधन चल्थे र बर्सातको समयमा कुनै पनि सवारी साधन सञ्चालनमा आउन सक्दैनथे । बर्खायाममा पैदल यात्रा गर्नुपर्ने र बिरामीहरूसमेत बोकेर पाँच घण्टादेखि नौ घण्टासम्म सवारी साधनको पहुँचमा पु¥याउनुपर्ने बाध्यता थियो । हाल उक्त सडक स्तरोन्नति भई ग्राभेलको रूपमा कार्य भइरहेको छ । यसैगरी कालोपत्रे सडक निर्माणका लागि तीव्र रूपमा कार्य भइरहेकाले गाउँपालिकाका नागरिक अहिले गाउँपालिका केन्द्रबाट हिउँद वा बर्सातको समयमा पनि एम्बुलेन्स सेवा, नियमित बस सेवा लिइरहेका छन् भने गाउँपालिकाका वडा बस्तीसम्म समेत सडक विस्तार भई सेवा लिइरहेका छन् । स्वास्थ्य क्षेत्रमा टोलटोलमा स्वास्थ्य केन्द्र स्थापना, पालिका केन्द्रमा अस्पताल स्थापना, बसाइँ सरी आउने नागरिकलाई १ लाखदेखि ५ लाखसम्म व्यावसायिक अनुदान कार्यक्रम, एक टोल एक विकास निर्माण, एक टोल एक उत्पादन कार्यक्रम, जनप्रतिनिधि कर्मचारी र शिक्षकका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पठनपाठन, हरेक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा, हरेक आधारभूत विद्यालयमा टिभी कार्यक्रम, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरौ उपहार कार्यक्रम, दीर्घरोगीहरूलाई निःशुल्क स्वास्थ्य बिमा र नियमित उपचार खर्च वितरण गरिएको छ । सामाजिक कार्यहरूमा निःशुल्क ट्यांकरमार्फत खानेपानी सेवा, गाउँपालिकाको निर्णयअनुसार पालिका क्षेत्रभित्र सामाजिक कार्यहरू विवाह, व्रतबन्ध, पास्नीलगायतका सामाजिक–सांस्कृतिकलगायत मेला–पर्वहरूहरूमा खानेपानीको आपूर्तिका लागि गाउँपालिकाले निःशुल्क ट्यांकरमार्फत खानेपानी आपूर्ति गरी सेवा प्रदान गरिरहेको छ । गर्भवती र सुत्केरी महिलालाई आयोडिनयुक्त नुन उपहार कार्यक्रम र गाउँपालिका दन्त उपहार कार्यक्रमका साथै गाउँपालिको पूर्वाधार विकास पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रमहरू आएका छौं ।
आफ्नो कार्यकालमा तपाईं आफैंले गर्व गर्न लायक केही गर्नुभयो ?
खानेपानी, सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा पूर्वाधार विकाससँगै नागरिकको जीवनयापनमा परिवर्तन ल्याउनु नै गर्व गर्न लायक काम गरेको जस्तो लाग्छ ।
गर्न नसकेका काम के–जस्तो लाग्छ तपाईंलाई ?
टोल विकास समिति परिचालनका योजनाहरू, नीति कार्यक्रममा ल्याए पनि व्यवस्थित कार्यहरू बाँकी रहेको, हरेक विद्यालयमा ढाका पोसाक लागू गर्ने नीति लिइएको तर स्रोत अभावले कार्य गर्न नसकिएको, एक वडा एक उद्योग स्थापनाका लागि योजना बनाएको तर स्रोत अभावले स्थापनामा समस्या भएको अवस्था छ ।
स्थानीय तहमा काम गर्न के के समस्या रहेछन् ?
संघीयता कार्यान्वयनको पहिलो चरण भएकाले नीति निर्माणमा समस्या, दक्ष जनशक्तिको अभाव, राष्ट्रिय राजनीतिक अस्थिरताका कारण योजना कार्यान्वयनमा समस्या, कोभिडका कारण दुई आर्थिक वर्षको बजेट परिचालनमा समस्या उत्पन्नलगायतका समस्याहरू छन् ।
जनताको बढी आकांक्षाचाहिं के पाउनुभयो ?
जनताको आकांक्षा के पाएँ भने तत्काल लाभदायी योजनाहरू र बढी सडकहरूको माग दीर्घकालीन सोच र धारणाहरू कम मात्रामा आउने तर तत्कालीन समस्याहरू माग हुने आदि ।
अब आउने जनप्रतिनिधिले के कुरामा ध्यान दिनुपर्ने रहेछ ?
आफ्नो कार्यकालको स्पष्ट योजना बनाई कार्यान्वयन गर्ने, पहिलो कार्यकालका अपुरा योजनाहरूलाई कार्यान्वयन गर्ने, गौरवका योजनाहरूको सूची बनाई कार्यान्वयन गर्ने, जनताको जनजीविकाको समस्याहरूलाई योजनाबद्ध कार्यन्वयन गर्नेलगायतका कुराहरूमा ध्यान दिनुपर्छ ।
कर्मचारीको सहयोग कत्तिको पाउनुभयो ?
कर्मचारीबाट राम्रो सहयोग भएकै छ ।