Logo

होजियारी उद्योग चलाउन दक्ष ‘कालिगड’ बन्दै हियाखोलाका महिला

जुम्ला-तातोपानी गाउँपालिका वडा नं. ६ को हियाखोला गाउँमा तीन महिनापछि जिल्लाकै पहिलो होजियारी उद्योग सञ्चालन गर्ने तयारी छ ।
चुलोचौकोमा सीमित महिलालाई हातेहोजियारी सीप सिकाएर दक्ष कालिगड बनाई गाउँमै उद्योग सञ्चालन गर्ने वडापालिकाको लक्ष्य छ । आफैं कालिगड र गाउँमै उत्पादन हुने वस्तुबाट महिलाले दोहोरो लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
सोही अनुसार बितेको ३ महिनादेखि तातोपानी ६ हियाखोलाकी सीता कामीले हातेहोजियारी सीप सिक्दै आएकी छन् । बिहान बेलुकीको समयमा स्वीटर,हाइनेक देखि उनीका कपडा बुन्नमै अधिकांस समय बिताउँछन् । वडा नं. ६ ले दिएको तालिमलाई अवसरका रुपमा लिएको सीताको भनाइ छ ।
“हामीले लगाउने शिरदेखि पाउसम्मको कपडा आयातित छ । सीप नभएर बेरोजगार बसेका थियौ । गाउँमै उद्योग खेल्ने उद्देश्य छ” उनी भन्छन्, “कालिगड बिना उद्योग सञ्चालन सम्भव छैन । बाहिरबाट ल्याउँदा महंगो पर्छ । त्यसैले सामग्री उत्पादनदेखि मेसिन मर्मतको सीप सिकेर कालिगडका रुपमा तयार हुँदैछौं ।”
हियाखोलाकै अर्की महिला संगिता कामीले भनिन्, “घरमै बसेर आर्थिक कमाउने बाटो पहिल्याउँदैछौँ । सानैमा विवाह गरेर शिक्षाको अवसरबाट बन्चित भयौं । इच्छा शक्ति भएकोले स्वरोजगार बन्न पढाइले छेकेको छैन । दक्ष कालिगड भएर माग अनुसार सामग्री उत्पादन गरी आयआर्जन बढाउने सोचमा छौं ।”
गाउँमै बेरोजगार र अशिक्षित महिलालाई केन्द्रमा राखेर होजियारी सीप दिन थालेपछि अहिले हियाखोलाका महिलाहरु विभिन्न कपडा बुन्ने कार्यमा अग्रसर भएकी छन् । सीता र संगिता कामी उदाहरण मात्र हुन्, गाउँमै उद्योग सञ्चालनका लागि दक्ष कालिगड बन्ने सोचले हियाखोलाकी कल्पना आर्चाय, पविता कामी, तिलनदेवी कामीलगायतका सात जना महिला नियमित होजियारी सीप सिकिरहेका छन् ।
उनीहरुले पहिलो तीन महिनामा सादा र विभिन्न डिजाइनका कपडा बुन्न सिकेकी छन् भने अबको तीन मेसिन मर्मतको कामदेखि अन्य आर्कषक डिजाइनका कपडा बुन्न सिक्ने प्रशिक्षक राप्रसाद छत्कुलीले भने, “यहाँको हावापानी अनुकुलको कपडा तयारी गर्न जुम्लामा होजियारी उद्योगको सम्भावना राम्रो छ । कपडा आयात मात्र नभइ नेपालका साना, मझौलादेखि ठूला उद्योगमा भारतीय कालिगडकै राज छ । त्यसैले गाउँमै उद्योग खोलेर गाउँकै महिला कालिगड बन्ने हो भने सस्तोमा उपभोक्ताले कपडा पनि पाउने र आर्थिक समृद्धि सम्भव देखिन्छ ।” धादिङबाट सीप सिकाउन आएका प्रशिक्षक छत्कुलीले सरकारले उद्योग सञ्चालन संगै स्वदेशी कालिगड उत्पादनतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
होजियारी उद्योग स्थापना गर्न गाउँकै महिलालाई सीप सिकाएर दक्ष कालिगड बनाएर रोजगारी प्रदान गर्न स्थानीय सरकार लागि परेको छ । तातोपानी ६ का वडाध्यक्ष विशाल खड्का होजियारी उद्योगले मात्र ग्रामणि महिलाको आयआर्जनमा सहयोग पुग्ने बताउँछन् । अहिलेसम्म हियाखोलाका नागरिक सरकारी कर्मचारी छैनन् । यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो । वडाध्यक्ष खड्काले भने, “अब यो गाउँलाई उद्यमी गाउँका रुपमा विकास गर्न महिला कालिगड उत्पादनको तयारीमा छौं । आफैं कालिगड भएपनि महिलाले आफ्नै लगानी गरेर पनि भविष्यमा उद्योग स्थापना गर्न सक्ने देखिन्छ ।”
घरको कामलाई छोडेर पनि महिलाहरु सीप सिक्न अग्रसर भएकोले उद्योग सञ्चालन गर्ने लक्ष्य साकार हुने उनको भनाइ छ । होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेकोे छ । हाल सीप सिकेर उद्योग स्थापना उत्पादित भएको सामानको बजारीकरणमा स्थानीयतहले सहजीकरण गरिदिन्छ । वडाध्यक्ष खड्काले थपे, “होजियारी उद्योगको यहाँ आवश्यक ठान्यौं । अहिले सामान्य संस्थाको भवनमा सीप प्रदान भइरहेको छ । यसका लागि प्याकेजिङ र सिलाइ गर्ने ठाउँ फरक चाहिने रहेछ । झण्डै ३० देखि ४० लाख लगानी थप्नुपर्ने छ । भविष्यमा पदमा । हुँदा वा नहुँदा हियाखोला गाउँमा होजियारी उद्योग सञ्चालन गरेरै छाडिन्छ ।”
६ महिने तालिमबाट महिला दक्ष कालिगड बन्ने,उद्योग सञ्चानको लक्ष्य पुरा हुने र महिलाको आर्थिक स्थित सुधार हुनेमा आफु विश्वस्त रहेको समेत वडाध्यक्ष खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्