नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको सालिक राखियो

नेपालगन्जको मुटुमा रहको त्रिभुवनचोकमा स्वः राजा त्रिभुवनको सालिक पुनः राखिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर राजाका समर्थकहरूले शनिबार स्वः राजा त्रिभुवनको अर्धकदको सालिक राखेका हुन् ।
सालिक पुनःस्थापना गर्दै राजावादीहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । सालिक राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर २ ख का अध्यक्ष मोहमद सफिक बेहनाले राजा कुनै एउटा पार्टीको नभएर सवैको साझा भएकाले यहाँका एतिहासीक सबै चोकमा सालिक राखीने बताए । स्वः राजा त्रिभुवनको सालिक स्थापनामा राष्ट्रबादी सबै नागरिकको सहयोग रहेको भन्दै उनले कसैले सालिक हटाउने प्रयास गरेमा प्रतिकारमा उत्रिने चेतावनीसमेत दिए ।
त्रिभुवन चोकमा झन्डै ६ दशकअघि स्थापना गरिएको त्रिभुवनको सालिक २०६२÷६३ को आन्दोलनका बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो । सालिक तोडफोड गरिएपछि मधेस आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका कमल मधेसीको नामबाट चोकको नामाकरण गर्नुपर्ने उनका समर्थकहरूले आवाज उठाउँदै आएका छन । यसैक्रममा पटक पटक विवाद पनि हुने गरेको थियो । नयाँ संविधान जारी भएयता चोकमा कुनै पनि सालिक नराखेर नेपालको झण्डा राखिँदै आइएको थियो ।