Logo

एमसीसीबारे सत्तारुढ दलभित्रै मतभेद


अमेरिकी सहायता परियोजना एमसीसी संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा प्रस्तुत हुँदा सत्तारुढ दलहरु नै विभाजित भएका छन् । सत्ता गठबन्धनको बैठकमा एमसीसी सदनमा प्रस्तुत गर्ने सहमति भए पनि यो विषय संसद् बैठकको कार्यसूचीमा प्रवेश गरेपछि सत्तारुढ दलले नै विरोध जनाए ।
संसद् बैठकको सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद्को कार्यसूचीमा एमसीसी परेकोमा आपत्ति जनाएका थिए । सत्ता गठबन्धनकै नेतृ दुर्गा पौडेलले पनि एमसीसीको चर्को विरोध गरिन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संसद् बैठकमा एमसीसी प्रस्तुत गर्न सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । नाराबाजीकै बीच मन्त्री कार्कीले एमसीसीको परियोजनाको बारेमा जानकारी दिँदै सम्झौता सदनमा प्रस्तुत गरेको जानकारी दिए । सभामुखले अर्को बैठक यही बिहीबार दिउँसो १ बजेका लागि बोलाएका छन् ।
सदनमा एमसीसी प्रस्तुत भएपछि यसको पक्ष र विपक्षमा बहस र तर्कवितर्क भइरहेका छन् । एमसीसीबारे दलहरु त विभाजित छन् नै, दलभित्रै पनि मतभेद छ । आइतबारको संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गरेका सांसदहरुको भनाइबाट पनि यो कुरा पुष्टि हुन्छ । एमाले सांसद भीम रावलले सत्तारुढ दलहरुको बीचमा सहमति नभई एमसीसी संसदमा पेश गर्नु नेपालको स्वाधीनतामाथिको बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद रावलले प्रमुख प्रतिपक्षी दलको विरोधका बीचमा एमसीसी टेबुल गरिनु नेपालको कानून, संविधान, नेपालको स्वतन्त्र परराष्ट्रनीति र नेपाली जनताको स्वाभिमानमाथिको ठूलो आघात भएको बताए । सांसद रावलले सरकारको यो प्रयास अलोकतान्त्रिक, गैरकानूनी भएको भन्दै सरकारले नेपाली जनताको आवाजलाई कुल्चिने दुष्प्रयास गरेको आरोप लगाए । उनले सत्तामा रहेको नेकपा (माओवादी केन्द्र) को विमतिका बाबजुद एमसीसी टेबुल हुनु प्रधानमन्त्री शेरबहादुर देउवा विदेशी शक्तिको अघि लम्पसार परेको आरोप लगाए ।
नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबुल गर्नु संविधान बिरोधी भएको दाबी गरे । उनले सरकारमा रहेका दलहरुको असहमतिमा संसदमा एमसीसी टेबुल गरिनु संविधानलाई मिच्ने काम भएको बताए । प्रमुख प्रतिपक्षीले अवरोध गरिरहेका बेला कार्यसूचि समेत ल्याउन नमिल्ने भन्दै सांसद खनालले सरकारले राष्ट्रियता र स्वाधिनताको दीर्घकालीन कुरालाई संसद अवरोधका बेलामा पेश गर्नु लज्जास्पद रहेको बताए । उनले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबावले सिंगो नेपाल विभाजित भएको बताए । सांसद खनालले एउटा आर्थिक सहायताको लागि देश विभाजन गर्न नमिल्ने बताए ।
नेकपा (एस)कै सांसद त्यस्तै रामकुमारी झाँक्रीले पार्टीको सर्वसम्मत निर्णयबाट नै एमसीसी पेश हुन दिएको दाबी गरिन् । उनले एमसीसीको बारेमा संसदमा विस्तृत छलफल गरेर निस्कर्ष निकालिने बताइन् ।
कांग्रेस सांसद तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले भने सडकमा भइरहेका प्रतिक्रियाहरुको जवाफ दिन एमसीसी संसदमा पेश गरेको बताए । मन्त्री बडूले संसदमा छलफल भएपछि एमसीसीको निस्कर्ष निस्कने बताए । नेपाली कांग्रेसकै सांसद गगनकुमार थापाले भीम रावल, देव गुरुङ र झलनाथ खनालले एमसीसी राष्ट्रघाती हो भन्ने हैसियत राख्न नमिल्ने टिप्पणी गरे । उनले एमसीसी राष्ट्रघाती हो भन्नेहरुले पार्टीका प्रमुख नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सदनमा राष्ट्रघाती मुर्दावाद भन्ने हैसियत राख्न सक्नुपर्ने बताए । सांसद थापाले एमालेको अवरोधबीच एमसीसी संसदमा छलफल हुन्छ वा हुँदैन भन्ने कुराको शंका सकिएको समेत बताए । उनले अबका दिनमा नाराबाजीकै बीचमा एमसीसीबारे छलफल हुने पनि बताए । सांसद थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अब पनि दोहोरो चरित्र देखाउन नमिल्ने बताए । उनले पक्ष वा विपक्ष के कुरामा मत हाल्ने हो त्यो बारेमा आफ्नो पार्टीको स्पष्ट धारणा निकाल्नुपर्ने बताए ।
नेकपा एमालेका सांसद विशाल भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको आरोप लगाए । उनले आफ्नो पार्टीको माग पूरा नहोउन्जेलसम्म पार्टीले संसदमा अवरोध गरिरहने बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने कुरामा आफ्नो पार्टीको सहमति नरहेको बताए । उनले भने, ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । अब सरकार जे हुन्छ, हुन्छ ।’

सडकमा चर्को विरोध
एमसीसीको विरोधमा आइतबार दिनभरजसो नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार प्रहरीतर्फ १० घाइते भएका छन् । प्रदर्शनकारीतर्फ पनि केही व्यक्ति घाइते भएको बताइएको छ ।
भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्नाका साथै सडक अस्तव्यस्त पारेका थिए । बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधारणले सास्ती बेहोर्नुपरेको थियो । सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्