कारोबारकर्मी चम्लागाईंलाई ‘धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार’

झापा- कारोबार दैनिककी झापा संवाददाता मनिषा चम्लागाईं ‘धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएकी छन् । शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच उनलाई ‘जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोष’ले यो पुरस्कार प्रदान गरेको हो ।
चम्लागाईंलाई प्रमुख अतिथि पूर्वमुख्य सचिव एवं साहित्यकार भोजराज घिमिरे, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईंसहितका अतिथिहरुले प्रमाण–पत्र, दोसल्ला र नगद २१ हजार १११ रुपैयाँ प्रदान गरे । समाजसेवी लोकराज ढकाल, यज्ञ पाठक र रेजिना रोदन सदस्य रहेको समितिले उनलाई पुरस्कारका लागि छनौट गरेको थियो ।
सोही अवसरमा ‘जयन्द्रप्रसाद प्रसाईं उत्कृष्ट कृति पुरस्कार’बाट साहित्यकार राजेन्द्र संग्रौला र ‘चन्द्र पद्यमा दीर्घ साहित्य सेवा पुरस्कार’बाट साहित्यकार प्रेमप्रकाश फलाहरी सम्मानित भए । दुवै पुरस्कारको राशि पनि २१ हजार १११ छ । फलाहरीले धुलाबारीमा ‘त्रिफला राष्ट्रिय पुस्तकालय’ सञ्चालन गरेका छन् । कार्यक्रमका अवसरमा पूर्वमुख्य सचिव घिमिरेले पुस्तकालयका लागि विभिन्न विधाका ५ सय पुस्तक दिने घोषणा गरे ।