Logo

दर्ता बिनै इन्स्टिच्युट सञ्चालन

पाँचथर-पछिल्ला समय च्याउझैं उम्रिएका विभिन्न भाषा सिकाउन खोलिएका इन्स्टिच्युटहरू बिना दर्ता सञ्चालन गर्ने गरेको पाइएको छ । दर्ता प्रक्रियासमेत सुरु नभएका इन्स्टिच्युटहरूले समेत विद्यार्थीहरू पढाउने गरेका छन् ।
दर्तासम्म नभएका यस्ता इन्स्टिच्युट करको दायरा बाहिर रहेको पाइएको छ । सदरमुकाम फिदिममा सञ्चालनमा रहेका एक दुई इन्स्टिच्युट बाहेक दर्ता नै नभए पनि सदरमुकाममा रहेर लाखौं रकम उठाए पनि राज्यलाई राजस्व तिरेका छैनन् ।
सदरमुकाम क्षेत्रमै सञ्चालनमा रहेका केही इन्स्टिच्युट त नाम नै टुँगो नलागी धमाधम कक्षा चलाइरहेका छन् । नियमनकारी निकायले प्रभावकारी र कडा कदम नचाल्दा स्थानीय सरकारले आम्दानीको स्रोतसमेत गुमाइरहेका छन् ।
नामकै टुँगो नलागी सञ्चालनमा रहेको उक्त इन्स्टिच्युटले दैनिक १५ जनाभन्दा बढीलाई कोरियन भाषा अध्ययन गराइरहेको छ । बाहिर राखिएको बोडमा सेवारो इन्स्टिच्युट भनेर उल्लेख गरिएको भए पनि विज्ञापन गर्दा सञ्चालकले श्रद्धा इन्स्टिच्युट भनेर गरिरहेका छन् । टोलीले तीबाहेक जिल्लामा रहेका अधिकांश इन्स्टिच्युट दर्ता बिना नै सञ्चालन भएको पाएको छ ।
फिदिम मेन रोडस्थित एनआईसी एसिया बैैंकको भुइँतलामा रहेको इन्स्टिच्युटको नाम नै यकिन छैन । फिदिम नगरपालिकासहितका सरोकारवाला निकायका पदाधिकारीको टोली अनुगमनका क्रममा त्यहाँ पुग्दा सञ्चालक मध्येका केहीले श्रद्धा इन्स्टिच्युट भन्दै थिए भने केहीले सेवारो इन्स्टिच्युट भनेका थिए ।
बुधबार अनुगमन गरिएका इन्स्टिच्युटमध्ये गोर्खा इस्टपोल इन्स्टिच्युटबाहेक कुनैको पनि दर्ता प्रक्रिया पूरा भएको छैन ।
कोरियन भाषाका लागि मात्रै जिल्लामा आधा दर्जन इन्स्टिच्युटमा कक्षा सञ्चालन हुन्छ भने जापानिज भाषाका लागि पनि त्यतिकै मात्रमा इन्स्टिच्युट खुलेका छन् । तर ती इन्स्टिच्युटले मापदण्ड भने पूरा गरेका छैनन् ।
नियमनकारी निकायले नियमित अनुगमन नगर्ने प्रवृत्तिका कारण पनि त्यो समस्या देखिएको हो । जिल्लामा इन्स्टिच्युटको अनुगमन नै पहिलो पटक भएको हो । जिल्लामा यकिन तथ्यांकसमेत छैन । बुधबार भएको अनुगमनमा जिल्ला शिक्षा समन्वय समिति, फिदिम नगरपालिका, जिल्ला प्रशासन कार्यालयसहितको उपस्थिति थियो ।
फिदिम नगरपालिकाले निर्माण गरेको शिक्षा नियमावली २०७४ मा नगरपालिकाकोे अनुमति बिना ट्युसन सेन्टर, ब्रिज कोर्स भाषा शिक्षक कक्षा वा लोक सेवा तथा शिक्षक सेवा तथा अन्य बैंक वित्तीय संस्थाका पूर्वतयारी कक्षा खोल्न नपाइने र हाल सञ्चालनमा रहेका संस्थाले नियम लागू भएको एक महिनाभित्र दर्ता गरिसक्नुपर्ने प्रावधान छ ।
नियम लागू भएको एक वर्ष बितिसक्दा पनि नियमको उलंघन भइरहेको छ । अनुगमनलाई प्रभावकारी बनाउँदै दर्ताका लागि आह्वान गरिने फिदिम नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेम गौतमले बताए ।

दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्