Logo

एमसीसी पास नभए मुलुक गम्भीर आर्थिक संकटमा : कोइराला

विराटनगर-नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास नभए मुलुक गम्भीर आर्थिक संकटमा फस्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस विराटनगर ९ नम्बर वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अमेरिकासँग सम्झौता भइसकेकाले एमसीसी पास गर्नुको विकल्प नभएको प्रस्ट पारे । उनले एमसीसी नेपालबाट फिर्ता गए अमेरिकाले विश्व बैंक, युरोपियन युनियनलगायत दातृ मुलुक र निकायबाट प्राप्त हुने अनुदान र सहयोग रोकिदिने दाबी गरे । “एमसीसी फिर्ता गए अमेरिकालाई केही फरक पर्दैन,” उनले थपे, “तर नेपाललाई यसले ठूलो समस्यामा पार्न सक्नेछ, अमेरिकालगायत दातृ राष्ट्र र निकायबाट आउने सबै सहयोग रोकिन सक्छ ।”
विदेशी सहयोग र अनुदान रोकिए नेपाल गम्भीर आर्थिक संकटमा फस्ने उनको भनाइ थियो । एमसीसी फिर्ता जाँदा अहिले श्रीलंका गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको उनको भनाइ थियो । कोइरालाले चिनियाँ अनुदानका रुपमा रहेको विआरआईसँगै एमसीसीलाई पास गर्नुपर्नेमा जोड दिए । एमसीसीका नाममा अमेरिकी सेना नेपालमा आउने भनेर सम्झौतामा कतै पनि नलेखेको उनले प्रस्ट पारे । कोइरालाले एमसीसीका बारेमा गलत प्रचार भइरहेको बताए । उनले भने, “एमसीसी पास भए अमेरिकी सेना नेपालमा आउनेछन् । ट्रान्समिसन लाइनबाट अमेरिकाले चीनलाई क्षेप्यास्त्र हान्नेछ भनेर गलत हल्ला फिँजाइएको छ ।”
शक्तिराष्ट्रसँगको सम्बन्धलाई सन्तुलित रुपमा अगाडि नबढाए नेपाल विदेशीको क्रिडास्थलका रुपमा परिणत हुने चेतावनी दिए । उनले विकास निर्माण तथा नेपालको गरिबी निवारण गर्दै लोकतन्त्रलाई बलियो बनाउन एमसीसी परियोजनाको लक्ष्य रहेको उल्लेख गरे । परियोजना आउँदैमा नेपालमा अमेरिकन तथा विदेशी सेना आउने कुरा एमसीसीको कुनै पनि बुँदामा उल्लेख नभएको उनले प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस्