फेरि पनि मनाङ पराजित

सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले मनाङलाई १–० ले हराउँदै तालिका दोस्रो स्थानमा उक्लिएको हो । निकै रोमाञ्चक भएको खेलमा २६औं मिनेटमा मेसुके ओलुमोउले गरेको गोलबाट एनआरटीले तीन अंक जोडेर अंक तालिकामा सुधार गरेको हो ।
यससँगै मनाङले पछिल्ला तीन खेलमा दोस्रो हार भोगेको छ । यस अघि एपिएफसँग ३–१ ले पराजित भएको मनाङले ११औं चरणको खेलमा थ्री स्टारसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो स्थानमा रहि रहन जित्नै पर्ने दबाबका साथ मैदान उत्रिएको मनाङले धेरै पटक पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा एनआरटीलाई अंक सुम्पिन बाध्य भएको हो । यस्तै एनआरटीले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै रोमाञ्चक जित निकालेको हो । हार सँगै मनाङ तालिकाको तेस्रो स्थानमा झरेको छ । यससँगै जारी लिगमा शीर्ष तीनमा अटाउने टोलीबीच होड रोमाञ्चक बनेको छ ।
बलियो मनाङविरुद्ध रोमाञ्चक जित निकालेको एनआरटीले १२ खेलमा २० अंक जोडेको छ । यस्तै समान २० अंक जोडेको मनाङ तेस्रो स्थानमा झरेको हो ।
लिग अन्तर्गत आइतबार नै भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पालाई २–१ हराउँदै यस सिजनको रेलिगेशन संकट टारेको छ । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गर्दा हिमालयनका अमृत श्रेष्ठले एक गोल गर्दै अन्तर घटाएका थिए । रोमान्चक बनेको खेलको १५ औं मिनेटमा रुपले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा नतिजा सुम्पिएको हिमालयनले ७१ औं मिनेटमा अमृतको गोलबाट खेल बराबरी अवस्थामा ल्याएको थियो । त्यसपछि खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित गर्दै टोलीलाई रेलिगेशन संघारबाट बचाए ।
जितबाट जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा रहेको छ । हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ । हिमालयन १० औं स्थानमा रहेको छ ।
कास्की क्वाटरफाइनलमा
मोफसलको टोली कास्की लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा कास्कीले बीएमकेलाई ९४–९२ को झीनो अन्तरले पराजित गर्दै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । कीर्तिपुर नगरपालिका समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ । कास्कीका पुष्कल छन्त्यालले २१ अंक जोडे । बीएमकेका दीपसन कार्कीले ४४ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमै टाइम्स समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । टाइम्सले रोयल बास्केटबल एकेडेमीलाई ८३–७८ ले हरायो । आ–आफ्नो टिमका लागि टाइम्सका सदीश प्रधानले २९ तथा रोयलका निकेश मगरले २७ स्कोर गरे । हारका बावजुद रोयल पनि समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । पुरुषमा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल कीर्तिपुर र रोयल, नेपाल आर्मी र क्याम्पियन सोलो, टाइम्स र कास्की तथा गोल्डेनगेट र ड्रिम टिमबीच हुनेछ ।
महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले रुपन्देहीमाथि सहज जित रच्ने क्रममा ७९–२७ को प्रदर्शन ग¥यो । ललितपुरकी मुना महर्जनले १९ अंक जोड्दा रुपन्देहीकी दीपिका गुरुङले १३ अंक आफ्नो नाममा लेखाइन् ।