Logo

नगरप्रमुखद्वारा छोसो फल्चा उद्घाटन

भक्तपुर – भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित छोसो फल्चाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणका कामलाई अगाडि बढाएको बताउँदै भक्तपुरका मौलिक संरचनालाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेको बताए ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई १०० शैय्याको अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारको जनविरोधी काम भएको बताउँदै उनले भक्तपुर नपाले स्तरीय ख्वप अस्पतालबाट अन्तरंग सेवा सुरु गरिसकेको, ज्येष्ठ नागरिकका लागि आदर निकेतनको भवन निर्माण भइरहेको, वडा वडामा नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन, घरदैलो नर्सिङ सेवा सञ्चालनलगायतका गतिविधि भइरहेको अवगत गराएका थिए ।
हामी विदेशीसँग भिख मागेर बनाएका सम्पदाबाट खुसी हुनुभन्दा आफ्नै पौरखमा जीर्णोद्धार र पुनर्निर्माण भएको सम्पदाप्रति गर्व गर्छौं भन्दै उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि गम्भीर आँच पुग्ने राष्ट्रिय हित तथा असंलग्न परराष्ट्र नीतिविपरीतको एमसीसी सम्झौता तत्काल खारेज गराउन नेमकिपाले खबरदारी जुलुस तथा सभाको आयोजना गरेको बताए ।
छोसो पाटी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण वासुकलाले २०७८ वैशाखबाट पुनर्निर्माण भएको पाटी १४ लाख ८ हजार ३ सय ४७ बराबरको आर्थिक लागतमा पुनर्निर्माण सम्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्