बालमैत्री टोल घोषणा

दाङको घोराही उपमहानगरपालिका–१४ वडाभित्रका टोलविकास संस्थालाई बालमैत्री घोषणा गर्ने अभियानको सुरुवात गरेको छ । पुस १६ गतेबाट सुरु गरेको अभियानअन्तर्गत शनिबार पहिलो पटक वडाभित्रको सिद्धार्थ गौतमनगर टोलविकास संस्था र सरस्वती टोल विकास संस्थालाई बालमैत्री टोल घोषणा गरिएको छ ।
पहिलो चरणमा शनिबार सर्वाेदय पुस्तकालय तथा वाचनालयको भवनमा सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा वडाध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी पूर्ण सरसरफाइ तथा बालमैत्री टोल घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष डाँगीले फागुन मसान्तसम्म उमहानगरलाई बालमैत्री नगर घोषणा गर्ने योजनाअनुसार वडाको टोल तहबाटै बालमैत्री अभियान थालिएको बताए ।
कार्यक्रममा बोल्दै घोराही–१७ का वडाध्यक्ष खुशीराम चौधरी, सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, घोराही उपमहानगरस्तरीय बाल क्लबका अध्यक्ष लक्ष्मी श्रेष्ठ, सर्वोदय बाल क्लबका अध्यक्ष श्रीज्वल योगीले समाजको संरचना अझै बालमैत्री हुन नसकेको बताए । मुलुक हाक्ने बालबालिकाका बारेमा सबैले सोच्नुपर्ने बताए । यस्तै सरस्वती टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता तथा वडाध्यक्ष डाँगीको प्रमुख आतिथ्यता एवं सरस्वती बाल क्लबका बालबालिका तथा टोलबासीको उपस्थितिमा बालमैत्री टोल घोषणा गरिएको छ ।