Logo

ठूला सार्वजनिक यातायात सञ्चालनमा सकस

फाइल तस्बिर ।

बारा-मुलुकमा चल्ने सार्वजनिक सबारीको चालिस प्रतिशत ठूला ट्रक र बस सञ्चालनमा सकस भएपछि खर्बौको वित्तीय लगानी जोखिममा परेको छ ।
लाइसेन्स, चालक, यात्रु र ढुवानी सामानको अभावमा ठूला सार्वजनिक यातायात सञ्चालन गर्न सकस बनेपछि बैंक तथा वित्तीय संस्थाको खर्बौ रकम जोखिममा परेको हो ।
कोरोना महामारीकै कारण नेपालमा सञ्चालित ४ लाख सार्वजनिक सवारी मध्ये ४० प्रतिशत ट्रक र बस सञ्चालनमा समस्या भएपछि दुई वर्षअघि सुरु भएको यातायातको समस्या अहिले उच्च बनेको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रिय महासचिव सरोज सिटौलाले नेपालमा सञ्चालित ४ लाख सार्वजनिक यातायातमा बैंक तथा वित्तीय क्षेत्रको करीब १० खर्ब लगानी रहेको बताए । कोरोना महामारी सुरु भएसँगै सार्वजनिक यातायात सञ्चालनमा देखिएका विभिन्न समस्याका कारण ४० प्रतिशत बस र ट्रक घर, ग्यारेज र बसपार्कमा थन्किएको बताए । उनले महामारीसँगै यातायात संकट व्यवस्थापनमा राज्यका निकायलाई दिएको सुझाव बेवास्ता गर्दा यतिबेला खर्बौको वित्तीय लगानी जोखिममा परेको बताए ।
ढुवानी भाडाको अर्बौ रकम विदेसिँदासमेत राज्य गम्भिर नबन्दा अर्थतन्त्रमा परेको असरमा यो पनि एउटा कारण रहेको महासचिव सिटौलाको दाबी छ ।
७० देखि एक करोड भन्दा बढी लगानीका ठूला ट्रक र बसमा बैंक तथा वित्तीय संस्थाको ७० देखि ८० प्रतिशतसम्म लगानी हुने गर्छ । यतिबेला देशभर एक लाख ५० हजार ट्रक र बस सञ्चालनमा कठिनाई उत्पन्न भएपछि थन्किएर कवाड बन्ने अवस्था रहेको छ ।
“दक्ष चालक विदेशिए, दक्ष भइसकेका सह चालकले लाइसेन्स लिन वर्षौं कुर्नु पर्दा हेभी चालक अभाव भयो अनि ठूला सवारी थन्किए” महासचिव सिटौलाले भने, “भारतीय नम्बरका मालबाहक अत्याधिक भार बोकेर सोझै मुलुकका प्रमुख शहरसम्म कम भाडामै ढुवानी गर्न थालेपछि नेपालको यातायात क्षेत्र नै संकटमा परेको छ ।”
नेपाली मालबाहक ट्रकले बोक्ने समानको अभावमा देशभरका ग्यारेजमै थन्किनु परेको र बैंकको साँबा, ब्याज किस्ता, तिर्न नसक्ने अवस्थामा व्यवसायी पुगेको महासंघले जनाएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालमा चल्ने ७० हजार मालबाहकमा सवारीमा ४० प्रतिशत पनि नियमित सञ्चालनमा आउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्