Logo

तरकारीमा विषादीको अवशेष न्यून

बाहिरी मुलुकबाट आयात हुने तरकारी तथा फलफूलका ६ हजार नमुना परीक्षण गर्दा ६ वटामा कैफियत पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुख्य ७ नाकाबाट तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष पाइएको हो ।
विभागका प्रवक्ता मोहनकृष्ण श्रेष्ठका अनुसार एक महिनाको अवधिमा ६ हजारको संख्यामा तरकारी तथा फलफूलको नमुना परीक्षण गरिएको थियो । विभागले आयातीत तरकारीमा जीवनाशक विषादीको अवशेष कति छ भनेर विभिन्न सात ठाउँबाट गत १ कात्तिकदेखि परीक्षण सुरु गरेको थियो । तरकारी र फलफूलमा विषादीको अवशेष सकिएकाले पनि कम देखिएको विभागको भनाइ छ । ।
यसअघि केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण भइरहेकोमा नाकामै परीक्षण थालिएको हो । विभागका अनुसार काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा विभाग अन्तर्गतका कार्यालयबाट परीक्षण सुरु गरिएको छ । परीक्षणको क्रममा एक–दुई ट्रक तरकारी÷फलफूल होल्ड गरिएको छ । आम उपभोक्तालाई गुणस्तरको सुनिश्चतता गर्न आयात हुने तरकारी तथा फलफूल सीमा क्षेत्रमै विषादी परीक्षण गर्नुपर्छ । खाद्य ऐन अनुसार गुणस्तर परीक्षणको दायित्व खाद्य विभागकै हो ।
विभागका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले आयातीत तरकारी र फलफूललाई केन्द्रित गरेको छैन । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र करिब २९ स्वरुपका विषादी प्रयोग भइरहेका छन् । तीमध्ये नेपाली प्रयोगशालाबाट दुई स्वरुप (काब्रामाइट र अर्गानोफोस्पेट) को मात्र परीक्षण हुन्छ ।
विज्ञका अनुसार विषादीमा ३५ प्रतिशत इनिमेसन रेट भन्दा बढी हुनु हुँदैन । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य मानिए पनि केही समय भण्डारणमा राख्दा इनिमेसन रेट कम भएमा खान मिल्ने हुन्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत अखाद्य हुन्छ ।
विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरैपटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्दा इनिमेसन रेट बढ्छ । ३५ प्रतिशतसम्मलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेंलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेत समेत दिइएको छ । बढी विषादी प्रयोग भएका तरकारीले तत्काल टाउको दुख्ने, वाकवाकी लाग्ने, हात कम्पन हुने, बेहोस हुने लगायतका समस्या आउँछ । दिर्घकालीन रुपमा क्यान्सर, हातखुट्टा लुलो हुने, गर्भ तुहिने, कलेजोको खराबी, एलर्जी लगायतका समस्या हुनसक्ने जानकार बताउँछन् । आयातीत तरकारी सबैभन्दा धेरै कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिन्छ । तर, आयातीत तरकारीमा विषादीको मात्रा प्रभावकारी रुपमा परीक्षण हुँदैन । तरकारीमा विभिन्न प्रकारका विषादीको प्रयोग हुन्छ । तरकारी टिपेर केही समय राखेपछि विषादीको अवशेष कम हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्