शितभण्डार निर्माणमा प्रदेश सरकारको बेवास्ता

अर्घाखाँची-लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आर्थिक सहयोगमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–२ पोखराथोकमा बनेको शितभण्डार निर्माणमा प्रदेश सरकारले नै बेवास्ता गरेको छ ।
प्रदेश सरकारसँग स्पष्ट नीति नहुँदा कोल्डस्टोर बनाउन स्थानीयलाई समस्या परेको हो । शिवशक्ति सित भण्डारको निर्माणमा शिवशक्ति मिश्रित कृषक समुहले प्रदेश सरकारसँग सम्झौता गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड ५० लाखमा सम्पन्न गर्नेगरी सम्झौता गरेपनि अहिलेसम्म १ करोड ४१ लाख रुपैयाँ मात्रै भुक्तानी लिएको छ ।
प्रदेश सरकार कोल्ड स्टोर बनाउनमा विज्ञ नभएको स्थानीय कृषक बताउँछन् । पाणिनीको सिम्ले सुन्तला खेतीका लागि पकेट क्षेत्र हो । उत्पादन भएका सुन्तला बिक्रीका लागि कोल्ड स्टोर निर्माण गर्दा कति लागत लाग्ने, कस्तो बनाउने भन्ने विषयमा पनि मन्त्रालय अनविज्ञ रहेको कृषक समुहहरू बताउँछ ।
प्रदेश मन्त्रालयको ७५ प्रतिशत र २५ प्रतिशत स्थानीयको लगानीमा सम्पन्न गर्नुपर्ने योजना भएपनि मन्त्रालयको कार्यविधिमा स्पष्ट उल्लेख नहुनु, मन्त्रालयका सचिव पटकपटक परिवर्तन भएकाले २ पटक डीपीआर निर्माण गरेको शितभण्डार सञ्चालक समितिका कोषाध्यक्ष खगेन्द्र पौडेलले बताए ।
कोल्ड स्टोर निर्माण गर्दा प्रदेश सरकारले काम गरेको बिलका आधारमा भुक्तानी दिने प्रतिवद्धता जनाएपनि बिलको भुक्तानी नभएको र कृषकहरुलाई दिएको २ करोड ५० लाखको कार्यक्रम सञ्चालन गर्न कठिनाई भएको शितभण्डार निर्माण समितिका अध्यक्ष हरिप्रसाद पौडेल बताउँछन् ।
कोल्ड स्टोर निमार्णमा प्राविधिक रुपमा समस्या आएको छ । स्टोर बनाएपछि परीक्षणको रुपमा २ वटा कोठामा सुन्तला राखिएको छ । शितभण्डारमा राखेका सुन्तला केही मात्रामा बिग्रिए पनि गाउँमै कोल्डस्टोर निर्माणपछि पाणिनी सिम्लेका सयौं कृषकलाई टेवा पुगेको छ । प्राविधिक कारणले समस्या आएपनि गाउँमा बनेको कोल्डस्टोर निर्माण सफल भएको शिवशक्ति शित भण्डारका अध्यक्ष चिरञ्जीवी पौडेलले बताए ।
उत्पादनका आधारमा कृषकहरुलाई विद्युत महसुलमा छुट दिने, क्यारेट व्यवस्थापन गर्ने, कर्मचारी राख्न गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष अच्युत गौतम बताउँछन् ।
ग्रामिण भेगमा बनेको कोल्डस्टोर निर्माणका लागि स्थानीयले ३ लाख रुपैयाँमा जग्गा लिएका छन् । २ लाखको लगानीमा डीपीआर निर्माण गरेका हुन । प्रदेश सरकारको स्पष्ट नीति नहुँदा स्थानीयलाई समस्या परेको छ । निर्माणाधिन कोल्ड स्टोरको व्यवस्थापनका लागि त्यहाँका व्यावसायिक सुन्तला कृषक सक्रिय छन् । स्थानीय कृषकले २ लाखका दरले सहयोग गरेका छन् ।