Logo

दुम्कीवास–त्रिवेणी सडकका लागि बजेट व्यवस्थापन हुन्छ : मुख्यमन्त्री पोखरेल

दुम्कीवास (नवलपुर)-दुम्कीवास त्रिवेणी सडक खण्ड स्तरोन्नति तथा विस्तारका लागि गण्डकी प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा अर्थमन्त्री रामजीप्रसाद बरालसहितको एक टोलीले उक्त सडक खण्डको अवलोकन गर्दै सो सडक निर्माणका लागि बजेटको व्यवस्था गर्ने बताएका हुन्।
प्रदेशको दक्षिणी नाकासम्म पुगेर नारायणी नदीको बाँधसमेत अवलोकन गर्दै मुख्यमन्त्री पोखरेल तथा अर्थमन्त्री बरालले प्रदेशको आर्थिक विकासको रणनीतिक महत्व भएको उक्त सडक निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको उनीहरूले बताएका थिए । नेपालको नाकामा खासै भौतिक संरचना निर्माण नहुँदा केही दिनदेखि हेल्प डेक्समा खाली आकासमुनि बसेका तीनजना कर्मचारीलाई मुख्यमन्त्री पोखरेल तथा अर्थमन्त्री बरालले जतिसक्दो छिटो भवन बनाउने बताए । प्रदेशको दक्षिणी नाकासम्म सडकको अध्ययन तथा अवलोकन गर्दै प्रदेशको गौरवको योजनासमेत रहेकोले उक्त निर्माणमा आफूहरूको ध्यान केन्द्रित भएको मुख्यमन्त्री तथा अर्थ मन्त्रीले स्थानीयमाझ बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले लामो समयको अवरोध हटाउँदै दुम्कीवास–त्रिवेणी सडक खण्ड खुल्ने तयारी गरिएको बताए । उत्तरको कोरोना नाका र दक्षिणको त्रिवेणी सडक गण्डकी प्रदेशको आर्थिक समृद्धिको मूलआधार हुने उनले दाबी गरे । साथै गजेन्द्र मोक्षधामको समेत अवलोकन गर्दै उनीहरूले धार्मिक पर्यटनको अथाह सम्भावना भएको उक्त क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्ने जनाए । प्रदेशका अर्थमन्त्री बरालले दुम्कीवास त्रिवेणी सडक खण्ड निर्माण गर्न र गजेन्द्रमोक्ष धाम तथा नवलपुरको भौतिक पूर्वाधार निर्माणमा जनताको आवश्यकता भएका योजनालाई प्राथमिकता दिने बताए । गजेन्द्र मोक्षधाममा आयोजित एक समारोहमा बोल्दै उनले यसै वर्ष केही रकम नै गजेन्द्रधाम व्यवस्थापनका लागि बजेट व्यवस्था गर्ने बताए ।
संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ गते मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जनाए । डीपीआरको काम अब सुरु भइहाल्ने भन्दै निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिट्टै यसको निकास दिने उनले विश्वास व्यक्त गरे । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्