दोस्रो र तेस्रो किस्ता सिंगटीबाटै पाउने

विगू गाउँपालिकाबासीले अब सिंगटीबाटै निजी आवास निर्माणका लागि दोस्रो र तेस्रो किस्ता पाउने भएका छन् । अनुदान वितरणको जिम्मा पाएको नेपाल इन्भेष्टमेन्ट बैंकले सिंगटीमै शाखा खोलेर सेवा दिने भएपछि अनुदान रकम लिन सहज हुने भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका अध्यक्ष डबल पाण्डेले बैंकले अब सिंगटीबाटै सेवा दिने जानकारी गराएको बताए । “विगू गाउँपालिकाबासीले अनुदान लिनका लागि रामेछाप धाउनु पर्ने बाध्यता थियो,” उनले भने, “बैंकले सिंगटीबाटै सेवा दिने जानकारी दिएको छ, बल्ल समस्या समाधान भयो ।” विगू गाउँपालिका वडा नं. ४, ५ र ६ का भूकम्पपीडितहरु अनुदान लिन रामेछापमा पुग्दा सास्ती भोग्नु परेको कारोबारले समाचार प्रकाशन गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले विगू गाउँपालिका– ४ सिंगटीमा शाखा खोल्ने भएको छ । शाखा खोल्नका लागि निर्माणाधीन घरभाडामा लिने सम्झौतासमेत गरेको छ । कार्यालय व्यवस्थापनका लागि तयारी गर्नका लागि समय लाग्ने हुँदा आउँदो वैशाखदेखि मात्र शाखा सञ्चालनमा ल्याउने जानकारी दिएको पुनर्निर्माण प्राधिकरण समन्वय कार्यालय चरिकोटका प्रमुख सागर आचार्यले जानकारी दिए ।
शाखा सञ्चालनमा नआउँदासम्म बैंकले हरेक महिनाको २ दिन सिंगटीमा भूकम्पपीडितका लागि सेवा सञ्चालन गर्ने भएको छ । महिनाको २१ र २२ गते भूकम्पपीडितहरुका लागि निजी आवास निर्माणका लागि किस्ता लिन सेवा दिने उनले बताए । बैंकले माघ महिनादेखि नै सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । बैंकले सिंगटीबाटै सेवा दिने भएपछि भूकम्पपीडितहरु दोस्रो र तेस्रो किस्ताका लागि अनुदान लिन रामेछाप जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
विगू गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज ओलीले भूकम्पपीडितले सिंगटीबाटै सेवा पाउनु भनेको गाउँपालिकाले जनताको गुनासो सुन्न कम हुने बताए । “अनुदान लिन रामेछाप पुग्नु पर्दा जनताले सास्ती भोग्दा गाउँपालिकाभित्र ठूलै गुनासो आउँथ्यो,” उनले भने, “जनप्रतिनिधिहरुको ठूलो कसरतपछि बैंकले सिंगटीबाटै सेवा दिने भयो, अब गाउँपालिकाको अन्य काममा ध्यान दिन पाउँला ।”
गाउँमै सिंहदरबार आउँछ भनेर भोट हालेका गाउँका बासिन्दा ‘भूकम्पपीडित अनुदान लिन त अर्कै जिल्ला जानुपर्छ केको सिंहदरबार’ भन्दै जनप्रतिनिधिहरुलाई बारम्बार आक्रोश पोख्दै आएका थिए । दोलखाका सबै भूकम्पपीडितले आफ्नै जिल्लाभित्रबाट अनुदान लिए तापनि विगू गाउँपालिकाका आलम्पू, चिलंखा, लादुकका २ हजार ६४० भूकम्पपीडित मात्र राहत लिन रामेछाप जानुपर्ने बाध्यता थियो ।
पहिलो किस्ता दिन घुम्ती सेवामार्फत विगू गाउँपालिका आएको उक्त बैंकका प्रतिनिधिहरू दोस्रो किस्ता दिनेबेला बेपत्ता भएको आरोप लाग्दै आएको थियो । उक्त बैंकले झण्डै दुई वर्षदेखि आलटाल गर्दै आएकाले उक्त क्षेत्रका भूकम्पपीडितको आवास निर्माणकार्यमै बाधा पुगेको छ । सिंगटीबाटै दोस्रो र तेस्रो किस्ता लिन पाउने भएपछि स्थानीयहरु हौसिएका छन् ।
जिल्ला समन्वय समितिको बैठकले सो बैंकले सेवा दिन नसके विकल्प खोज्ने निर्णय गरिसकेको थियो । पुनर्निर्माण प्राधिकरणले समेत सिंगटीबाटै सेवा सञ्चालनका लागि बैंकलाई ताकेता गर्दै आएको थियो । स्थानीय तहमा बैंकको शाखा खोल्ने योजनाअनुसार विगू गाउँपालिकामा इन्भेष्टमेन्टले नै शाखा खोल्ने अनुमति पाएको छ ।
दिलबहादुर केसी