Logo

प्रजातन्त्रका सात दशक

राजनीतिको छायामा अर्थतन्त्र

मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि त्यसले आर्थिक रुपान्तरण भने गर्न नसकेको अर्थविद्हरूले बताएका छन् । राजनीतिक परिवर्तनले अर्थतन्त्रको जग बसाल्नुपर्नेमा सामान्य आर्थिक परिवर्तनमात्र भएको उनीहरूको तर्क छ ।
२०४६ सालपछि शासन व्यवस्थामा परिवर्तन भए पनि राजनीतिक नेतृत्व र उच्च प्रशासकीय नेतृत्वले परिवर्तनलाई व्यवस्थित गर्न नसक्दा अर्थतन्त्रमा उल्लेख्य प्रगति हुन नसकेको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । “०४७ सालअघि राजनीतिक तथा प्रशासकीय नेतृत्वको जुन कार्यशैली र व्यवहार थियो, अहिले पनि उस्तै छ । त्यसकारण तीव्र आर्थिक वृद्धि तथा दिगो विकासको सपना पूरा हुन सकेन,” अधिकारी भन्छन् । सडक, शिक्षा, सञ्चारलगायत क्षेत्रमा थुप्रै सुधार भए पनि उच्च आर्थिक वृद्धि हासिल गर्न नसकिएको उनी बताउँछन् । “अहिले हरेक मानिसका हातमा मोबाइल छन्, यातायातका साधन बढेका छन् । शिक्षा तथा स्वास्थ्यमा पनि केही परिवर्तन देखिन्छन् । तर, जति पूर्वाधारको विकास हुुनुपर्ने हो, त्यति भएन । जति सामाजिक सेवा, शिक्षा तथा स्वास्थ्यमा गुणात्मक परिवर्तन हुनुपर्ने हो, त्यो हुन सकेन,” अधिकारीको भनाइ छ ।
अर्का अर्थविद् डा. गोविन्द नेपाल पनि आर्थिक विकासका कामहरू भइरहेको भए पनि अपेक्षाअनुसार हुन नसकेको बताउँछन् । “यातायात, सञ्चार तथा बाटोघाटोमा सुधार देखिएका छन् । निजी क्षेत्रले पनि जलविद्युत, सिमेन्ट तथा अन्य क्षेत्रमा लगानी गरिरहेका छन् । तरपनि हामीले चाहेको आर्थिक जग भने बसेको अनुभूति हुन सकेको छैन,” नेपाले भने । कहिले ७ प्रतिशतको आर्थिक वृद्धि हुने र कहिले २ प्रतिशतले नकारात्मक हुने अवस्था आएको बताउँदै उनले आर्थिक स्थायित्व कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरे । त्यसमाथि भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा विकासको गुणस्तर खस्कँदै गएको उनको तर्क छ । “हामीले भ्रष्टाचार नियन्त्रण गर्न सकेनौं । भ्रष्टाचारले प्रतिस्पर्धालाई घटायो, जसले विकासको गुणस्तर कमजोर बनाउँदै लगेको छ,” नेपालको भनाइ छ । अपेक्षाअनुरुप पूर्वाधार विकास हुन नसक्दा आयोजनाहरू अलपत्र हुने गरेको नेपालको तर्क छ । “विभिन्न सडक पूर्वाधारदेखि गौरवका आयोजना अलपत्र छन् । हरेक सरकार आउँदा नयाँ आयोजना ल्याउँछन् तर व्यवस्थित र रणनीतिक विकास हुन भने सकेको छैन,” उनले भने । साथै प्रशासनिक सुधार पनि हुन नसकेको नेपाल बताउँछन् । कर्मचारी माथिको आदेश पालन गर्ने तर जनताको सेवकको रुपमा नदेखिँदा समस्या ल्याएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्