नेपालको विद्युत व्यापारमा सघाउन बेलायत तयार

नेपालको विद्युत व्यापारमा सघाउन बेलायत तयार रहेको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भएको शिष्टाचार भेटका क्रममा बेलायती राजदूत निकोला पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको बताएकी हुन् ।
बिहीबार ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत तयार रहेको भन्दै ऊर्जा क्षेत्रका निकायको संस्थागत सवलीकरणमा बेलायत सरकारले सहयोग गरिरहेको र यसलाई जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
उक्त भेटमा दुई पक्षीय आपसी हित र चासोका विविध विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ । भेटका क्रममा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नजिकबाट काम गरिरहने प्रतिबद्धता जनाइन् ।
सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिज्मको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भुसालले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति आभार व्यक्त गरिन् ।
ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि नेपालले बूढीगण्डकी, दूधकोसी, नलगाढजस्ता जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।