गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठबाट व्यावसायिक उडान «

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठबाट व्यावसायिक उडान


नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि व्यावसायिक उडान गर्ने तयारी गरेको जनाएको छ ।
प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेर महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान बुद्ध जयन्तीका दिनदेखि सुरु गर्ने बताए । उनले एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल साढे ११ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक पर्यटकको लागि महत्वपूर्ण रहेको पनि बताए ।
सन् २०१४ मा सरु भएको सो विमानस्थल सन् २०१७को अन्त्यमा निर्माण समापन हुनु पर्ने भएपनि विभिन्न प्राविधिक कारणले गर्दा ५ वर्ष ढिला सञ्चालनमा आउन लागेको प्राधिकरणले जनाएको छ । महानिर्देशक अधिकारीले विमानस्थलको व्यावसायिक रुपमा सञ्चालन गर्न गठित विमानस्थलको महाप्रबन्धक र विभागिय प्रमुखहरुले समितिले काम गरिरहेको बताए । समितिले तय भएको मितिमा उडान गर्नको लागि सरोकारबाला निकायसँगको संयोजनमा काम गर्ने जिम्मेवारी तोकिएको छ ।
हाल सो विमानस्थलको प्राधिकरणले शुक्रबारदेखि एक सातासम्म एरो थाइ विमानबाट क्यालिब्रेसन फ्लाइट सुरु गर्दैछ । यसका लागि बिहीबार नै एरो थाइ विमान काठमाडौं हुँदै भैरहवा पुगेको प्राधिकरणका निमित्त निर्देशक ई–मुकुल मिश्रले बताए । दैनिक ६ देखि ७ घण्टा १ सातासम्म सो विमानले सो विमानस्थलबाट उडान तथा अवतरण गरेर क्यालिब्रेसन फ्लाइट गरेको रिपोर्ट बुझाएपछि पछि परीक्षण उडान गरिने छ । सो पछि व्यवसायिक उडान गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ । क्यालिब्रेसनका लागि करिब ५० देखि ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान प्राधिकरणको छ ।
शुत्रबारबाट हुने क्यालिब्रेसन फ्लाइटका लागि अन्य उडान तथा अवतरण बन्द गरिने छ । भैरहवा विमानस्थलल वार्षिक १५ लाखसम्म यात्रुलाई सेवा दिने महानिर्देशक अधिकारीले बताए । दसैंपछि निर्माण सरु हुने टर्मिनल भवन बनेपछि ७० लाख यात्रुलाई सेवा दिन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्