३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’

सरकारले २ हजार ३ सय विद्यालयहरूमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरूमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिए । शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरूमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे ।
मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए । उनले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए । मन्त्री पौडेलले भने, ‘२३ सयवटा विद्यालयहरूमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरूमा त्यसलाई निर्माण गरिनेछ । सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ । तर त्यसका लागि सरोकारवाला निकायहरूले सक्दो सहयोग गर्नुपर्ने हुन्छ ।’
मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरूको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।