निर्वाचन लक्षित कार्यक्रममा सक्रिय म्याग्दीका राजनीतिक दल

म्याग्दीका क्रियाशिल राजनीतिक दलले सक्रियता बढाएका छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा सक्रियता बढेको छ । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति घोषणासंगै निर्वाचन लक्षित कार्यक्रम बनाउन वडा–वडाका कमिटीसँग भेटघाट र मत सर्वेक्षणलाई तिव्रता दिएका छन् ।
वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गरेका मुख्य दलहरूले निर्वाचन लक्षित कार्यक्रमहरू बनाउन आन्तरिक तयारीमा दलका नेताहरुले लागेका छन् नेकपा एमालेका अध्यक्ष देवेन्द्रबहादुर केसीले निर्वाचनलाई मध्यनजर गरेर जिल्लाभरको कार्यक्रम तय गर्न फागुन ११ गते जिल्ला कमिटीको बैठक राखिएको बताए । स्थानीय तहका पार्टी मिटीङ, गाउँ–गाउँमा टोल भेला, संगठन विस्तार, सदस्यता वितरणलगायत भेटघाटका कार्यक्रम भइराखेको अध्यक्ष केसीले जानकारी दिए ।
सरकारले निर्वाचनको मिति घोषणा संगै निर्वाचनालाई केन्द्रित गरेर पार्टीका कार्यक्रमहरू जनतासमक्ष लगेर गाउँगाउँ पुग्ने कार्यक्रम तिव्र रुपमा अघि बढाएको नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले भने । पार्टीका पालिका समितिले टोलस्तरमा कार्यकर्ता भेटघाट र टोल समिति गठन गर्ने अभियान सञ्चालन भइरहेको जानकारी दिए ।
माओवादीले निर्वाचन लक्षित कार्यक्रम अनुसार पालिका र वडामा सम्पर्क कार्यालय स्थापना र वडा कमिटीको बैठक र सम्भावित उम्मेद्वारलाई सक्रिय बनाउने कार्यक्रमलाई तिव्रता दिएको जिल्ला संयोजक रेशम जुग्जालीले भने । निर्वाचनलाई लक्षित गरेर पार्टीका सम्पूर्ण गतिविधिहरू केन्द्रित हुनेछ ।
जिल्लामा रहेका नेकपा एकीकृत समाजवादी, राप्रपा र राष्ट्रिय जनमोर्चा लगायत साना दलहरू पनि निर्वाचनको मिति घोषणाले उत्साहित बनेका छन् । निर्वाचनको मिति चयन भएसँगै दलहरूमा उम्मेदवारको पनि चर्चा हुन थालेको छ । जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका छन् । नगर तथा पालिका अध्यक्ष र वडाध्यक्ष पदमा को–को उम्मेदवार हुने भन्ने बहस सुरु हुन थालेको छ ।
सामाजिक सञ्जालमा अधिकांश जनताहरूले जनप्रतिनिधिहरूले गरेका कामको समिक्षा गर्न सुरु गरेका छन् । म्याग्दीमा सक्रिय राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा आदिमा बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्र–भित्र यी पार्टीका नेता कार्यकर्ताहरूमा महत्वाकांक्षा र गुटगत स्वार्थ भने रहेको छ । यसपटक राजनीतिमा युवाहरूको विशेष आकर्षण देखिएको छ । कतिपय युवाहरूले त स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन् ।