धितोपत्र ब्रोकरलाई एजेन्ट दिन बोर्डको आनाकानी

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई मापदण्ड तोकेर शाखा विस्तारमा केन्द्रित भएको छ । सेयर कारोबार प्रणाली अनलाइन भइसकेपछि बजार विस्तारका लागि सब–ब्रोकर तथा एजेन्टमार्फत् जानुपर्नेमा शाखा नै विस्तार गर्न बाध्य बनाएको हो ।
बोर्डले ब्रोकर कम्पनीलाई शाखा स्थापनाका लागि मापदण्ड तोकेर उपत्यकाभन्दा बाहिरबाट कारोबार गर्न अनुमति दिँदै आएको छ । हालसम्म उपत्यकाबाहिरका ४१ स्थानमा धितोपत्र दलाल कम्पनीका शाखा स्थापना भइसकेका छन् । हालैमात्र सेयर कारोबारको सम्भावना रहेको स्थानमा सेयर दलालले शाखा विस्तारका लागि धितोपत्र बोर्डसमक्ष आवेदन पनि दिएका छन् । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा सबब्रोकर र एजेन्टमार्फत सेयर खरिद बिक्री हुने भए पनि नेपालमा त्यसको सुरुवात हुन सकेको छैन । छिमेकी राष्ट्र भारतमा सबब्रोकरमार्फत सेयर कारोबार हुन्छ । नेपालमा पनि धितोपत्र ऐन २०६३ मा धितोपत्र प्रतिनिधि भन्ने व्यवस्था भए पनि त्यो ‘ओपनआउट क्राइ सिस्टम’का लागि थियो ।
अन्तर्राष्ट्रिय अभ्यासमा नै नभएको धितोपत्र दलाल कम्पनीको शाखा स्थापना गर्ने भन्दा अहिलेको धितोपत्र ऐनमा भएको व्यवस्थालाई बजार सुहाउँदो गरी व्याख्या गरेर सबब्रोकरबाट एजेन्टमार्फत बजार विस्तार गर्नुपर्ने बोर्डका पूर्वअध्यक्षहरू बताउँछन् । धितोपत्र बजारको नियामकले ऐनको पुनब्र्याख्या गरेर सबब्रोकरमार्फत कारोबार गराउने व्यवस्था गर्नुपर्ने एक पूर्वअध्यक्षले बताए । “धितोपत्र ऐनमा भएको ब्रोकर प्रतिनिधिको व्यवस्था ओपनआउट क्राइ प्रणालीका लागि भए पनि अहिले त्यसलाई नियामकले व्यवस्था गरेर सब ब्रोकर तथा एजेन्सको व्यवस्था गर्नु आवश्यक छ,” उनले भने, “नियामक निकायले आफूले नियमन गर्ने कम्पनीलाई पनि हेरेर समयसापेक्ष बनाइ बजार विस्तार गर्नुपर्छ ।” धितोपत्रको कारोबार पनि बिमा एजेन्टमार्फत गराएजस्तै गरेको खण्डमा बजार विस्तार पनि हुने र धितोपत्र दलाल कम्पनीलाइ पनि खर्च कम हुने हुँदा उपयुक्त हुने उनको सुझाव छ ।
अहिलेको कानुनी व्यवस्थाले सब ब्रोकर र एजेन्टमार्फत जान नसकिने धितोपत्र बोर्डका एक अधिकारीले बताए । “तर, अहिलेको कानुनी व्यवस्थालाई परिमार्जन गरेर सबब्रोकर तथा एजेन्टमार्फत कारोबार गर्न सकिने व्वस्था गर्न सकिन्छ,” बोर्डका अधिकारीले भने, “शाखा नै विस्तारमा जोड दिनुभन्दा पनि ऐन नियममा भएको व्यवस्थालाई ब्याख्या गरेर सबब्रोकर तथा एजेन्टमार्फत जाँदा नै उपयुक्त हुन्छ ।” कानुनहरू संशोधनको प्रक्रियामा पनि भएको हुनाले आगामी दिनमा त्यो व्यवस्था गर्न सकिने ति अधिकारीको भनाइ छ ।
धितोपत्र दलालले भने बोर्डले अनिवार्य गराएको स्थापनमा समेत शाखा खोल्न तयार रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । “हामीले सबब्रोकरमार्फत कारोबार गर्न पाउने व्यवस्थाको अनुरोध गर्दा धितोपत्र बोर्डले शाखामार्फत् नै जान भनेको हो,” रानाभाटले भने, “शाखामार्फत् जानेको भने एक हजार स्क्वायरफिट र ५ जना कर्मचारीको मापदण्ड घटाइदिन अनुरोध गरेका हौँ ।” तर, धितोपत्र ऐनमा भएको दलाल अधिकारी प्रतिनिधिको सट्टामा सबब्रोकर वा एजेन्टमार्फत् कारोबार गर्नसकिने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज पनि बोर्डलाई पत्राचार गरेको उनले बताए । सबब्रोकर वा एजेन्टमार्फत कारोबार हुँदा जोखिमको जिम्मेवार दलाल कम्पनी नै हुने भएकाले बजार विस्तार र गाउगाँउबाट सेयर कारोबार गर्न सहज पनि हुने उनको भनाइ छ ।