ठेकेदार र पुजारी पक्राउ
व्यवसायी तर्साएर चन्दा उठाउन झापामा नक्कली बम

झापा – आवरणमा हिन्दु राष्ट्र र संघीयता खारेजीको वकालत गर्दै चन्दा संकलन गर्ने भूमिगत समूहको गिरोह प्रहरीको फन्दामा परेको छ । ‘हिमाल सुरक्षा परिषद्’को नाममा चन्दा संकलन गर्ने गिरोहका ९ सदस्यलाई जिल्ला प्रहरी कार्यालय, झापाले समातेको हो । यो समूहले बिर्तामोडमा माघ ९ गते र दमकमा माघ १३ गते प्रेसर कुकर बम जस्तो देखिने वस्तु राखेर जिल्लामा आतंक सिर्जना गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार १ नंं प्रदेश प्रहरी कार्यालय, बिराटनगरको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) को सहयोगमा मुख्य योजनाकार गौरादह–२ का सुमनकुमार कार्कीसहित ९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने कार्की ठेक्कापट्टामा संलग्न व्यक्ति हुन् । उनलाई प्रहरीले ‘हिमाल सुरक्षा परिषद्’ नामको पर्चा, पम्प्लेटसहितका सामग्रीसहित भारतबाट पक्राउ गरी ल्याएको हो ।
एसपी पोखरेलका अनुसार वैदेशिक रोजगारी सम्बन्धी ठगीमा समेत पक्राउ परिसकेका व्यक्ति उनले व्यवसायीलाई भूमिगत समूहका नाममा धम्क्याएर चन्दा असूली गर्ने गरेका थिए । ‘व्यवसायीलाई तर्साएर चन्दा दिन बाध्य पार्ने उद्देश्यले नै उनको समूहले झापाको विर्तामोड र दमकमा प्रेसर कुकर बम जस्तो देखिने वस्तु राखेको थियो’ पोखरेलले भने, ‘पक्राउ परेकाहरुको साथबाट चन्दा संकलन गर्न प्रयोग गरिएको लेटर प्याड र परिषद्को नामको पर्चाहरु पनि बरामद भएका छन् ।’
पोखरेलका अनुसार मुख्य नाइके कार्कीको घरबाट ११ साउन २०७८ मा इलाका प्रहरी कार्यालय, दमकले ३० ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो । तर उनी त्यसयता फरार थिए, अदालतबाट वारेन्ट जारी भइसकेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा कनकाई नगरपालिका–३ का मजदुर ४१ वर्षीय भीष्म थापा, दमक–९, चिया दोकान चोककी ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई नगरपालिका–३ का कुमार भनिने यमदत्त सिटौला र शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरुण लिम्बु भन्ने दिलकुमार सामेखामलाई पनि पक्राउ गरेको छ । संखुवासभाका २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादहका ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज .–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई पनि पक्राउ परेका छन् ।
बिहीबार विर्तामोड आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी पाठकले अनुसार विर्तामोडमा शंकास्पद वस्तु राख्न कनकाई नगरपालिकाका थापा संलग्न देखिएको बताए । पेशाले ट्युबेल गाड्ने मजदुर उनलाई मोटरसाइकल दिने प्रलोभनमा प्रेसर कुकर राख्न भनिएको थियो । छिमेकी समेत रहेका कोटीहोमका पुजारी सिटौलाले कनकाई नगरपालिकाका थापालाई प्रेसर कुकर राख्न अह्राएका थिए । सिटौला ग्रेटर नेपालको माग राखी शंकास्पद वस्तु प्रेसर कुकर राखेको अभियोगमा यसअघि नै पक्राउ परिसकेका व्यक्ति हुन् । त्यसपछि कार्की ९ माघमा प्रेसर कुकर बोकेर विर्तामोड बस स्ट्याण्डमा पुगेका थिए ।
‘बिहान ३ बजे नै उनले सुरुङ्गाको चारआली चोकबाट शंकास्पद वस्तु र पर्चा ल्याएका रहेछन्’ पाठकले भने । पक्राउ परेका मध्ये देवी बाँस्कोटा कार्कीका मुख्य सहयोगी हुन् । प्रहरीका अनुसार बाँस्कोटाले झापाको विभिन्न ठाउँमा शंकास्पद वस्तु राख्न केर्खा चोकबाट ४ वटा प्रेसर कुकर खरिद गरेकी थिइन् । उनी चन्दा संकलन गर्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले बताएको छ । पक्राउ परेकामध्ये सरुण लिम्बु यसअघि लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय पाइ कारागारबाट छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनले ‘हिमाल सुरक्षा परिषद्’ नामक समूहको गतिविधिका लागि झापा र मोरङका विभिन्न स्थानबाट चन्दा संकलन गर्दै आएको प्रहरीले जनाएको छ । लिम्बु दमकमा शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न रहेको एसपी पोखरेल बताउँछन् ।