Logo

सडक सौन्दर्य जोगाऔं

सडक मानव जीवनयापनमा सरल, सहज बनाउने माध्यम हो । एक स्थानबाट अर्को स्थानसम्म सडकमार्गको प्रयोग गरी सजिलै गन्तव्यसम्म पुग्न सकिन्छ । सडकमार्ग भएर चल्ने यातायातको साधन प्रयोग गरी गन्तव्यलाई छोट्ट्याउन सकिन्छ । यस अर्थ सडक एउटा माध्यमको रूपमा खडा भएको हुन्छ । यिनै सडकमा हरेक मानिसले आफ्नो दूरी नापेको हुन्छ । यसलाई चुस्त–दुरुस्त राख्न आम सडक प्रयोगकर्ताको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सडकबाटै यहाँ हरेक मानिसको गुजारा चलिरहेको हुन्छ । एउटा भरिया दिनभरि सडकमा भारी बोकेर गुजारा चलाउने गर्छ । उसको आम्दानीको माध्यम नै सडक बनिरहेको हुन्छ । त्यस्तै एक सवारी चालक जसले हरेक यात्रुलाई गन्तव्यमा पु-याएर यात्रु र आफ्नो दुवैको गर्जो टारिरहेको हुन्छ । यति मात्र होइन, सडकछेवैको फुटपाथ प्रयोग गरी साना व्यवसाय सञ्चालन गरी आफ्नो गुजारा चलाउँदै आइरहेको त सर्वविदितै छ । तिनै सडक हुन्, जहाँ भरियादेखि उच्चपदस्थ व्यक्तिहरूको सवारी हुने गरेको छ । हो, यिनै सडकको अवस्थालाई नियमित मर्मत–सम्भार र यसलाई दिगो रूपमा बचाइराख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालयहरू रहेका हुन्छन् ।
हरेक वर्षहरूमा सडक निर्माण तथा मर्मत–सम्भारका विषयमा चर्को आलोचना हुने गथ्र्यो । मुलुकमा विभिन्न अन्तर्राष्ट्रिय सभा–सम्मेलन हुँदा अन्य मुलुकबाट आउने विशिष्ट पाहुनाहरूको आवागमन हुँदामात्र स्वागतार्थ काठमाडौंका सडक चिल्ला र सुकिला देखिन्थे । रातारात देखाउनका निमित्त मात्र सडक निर्माण तथा मर्मत–सम्भार हुने भन्ने विषयमा चौतर्फी आलोचित रहने डिभिजन कार्यालय कोरोना महामारीको समयमा भने काठमाडौंका सडकहरू निर्माण तथा मर्मत–सम्भारमा तीव्रता बढाएको थियो । विगतका वर्षहरूमा प्राथमिकतामा नपरेका सडक ती बेला मुख्य प्राथमिकताका साथ कार्यहरू भएका थिए । विश्वमा महामारीका रूपमा कोरोना भाइरस कोभिड–१९ को प्रभावले मुलुक लकडाउनमा गयो । हाम्रो मुलुकमा पनि २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो, त्यसै अवधिमा सडक मर्मत–सम्भार तथा पिच ओभरले, सडक मार्किङ, पेन्टिङ, सडक सजावट गर्न एक अवसर बन्यो । त्यो समयमा काठमाडौं उपत्यकाका मुख्य–मुख्य सडकका सडक सौन्दर्यताले प्राथमिकता पाएको थियो । पिच ओभरले, सडक पेटी, जेब्राक्रसिङ, डिभाइडरहरूमा रंगरोगन, वृक्षारोपण, पार्क निर्माणले सडकको थप सुन्दरतालाई उजागर गराउँछ ।
सुन्दर बनेको सडक अहिले पहिलेकै अवस्थामा पुगिसकेको छ । जताततै खाल्डाखुल्डी कायमै छन्, मुख्य सडक तथा भित्री सडकको अवस्था कहालीलाग्दो छ । निर्माण कार्य बेवारिसे हुँदा सवारी दुर्घटना बढेको छ भने नालीमा परेर कतिको ज्यानसमेत गएको छ । तर, सरोकारवाला यस्ता विषयमा भने मौन बनेको देखिन्छ । सडक सुरक्षामा डिभिजन सडक काठमाडौंले भने ध्यान नपु-याएको स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय सडक गुणस्तर अनि हाम्रा सडकका गुणस्तरमा तुलनात्मक रूपमा भिन्नता रहेको पाइन्छ । सडकसँगसँगै सडकको सौन्दर्यताले महत्व राख्छ त्यसैले सडक सौन्दर्यतालाई जोगाई थप त्यस्ता कार्यमा जोड दिनुपर्ने आजको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्