१४ करोड लागतमा कोसी अस्पतालको नयाँ भवन

विराटनगर-प्रदेश–१ कै सबैभन्दा पुरानो सरकारी अस्पतालका रुपमा रहेको कोसी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ ।
१४ करोड १३ लाखभन्दा बढी लागतमा निर्मित स्त्रीरोग तथा प्रसूति विभागको भवनबाट सेवासमेत सुचारु गरिएको छ । पिपुल अफ द यूनाइटेड स्टाटस अफ अमेरिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दुईतले भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले कोसी अस्पताललाई प्रदेश–१ कै नमुना अस्पताल बनाउने उद्घोष गरे । उनले ४० करोडको लागतमा आकस्मिक कक्ष र ३ सय करोडको लागतमा थप नयाँ भवन निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले नयाँ भवन, प्रविधसहितको थप जनशक्तिको व्यवस्थापनसमेत गर्ने बताए । “कोसी अस्पताललाई सुविधासम्पन्न बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन,” उनले भने, त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।” ऐतिहासिक महत्व बोकेको कोसी अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री खतिवडाले बताए ।
सरकारी अस्पताल सुधारका लागि क्लिनिकमा जाने र अस्पताल समयमा नबस्ने डाक्टर समस्याको रूपमा रहेको खतिवडाले बताए । उनले डाक्टरको तलब दोब्बर बनाउँदा पनि समस्या समाधान नभएपछि यसको कानुनी उपचार नै खोज्नुपर्ने अवस्था आएको प्रस्ट्याए । सरकारी अस्पतालका डाक्टरहरूले स्थायी नियुक्तिपत्र पाएपछि ‘शेर’ बन्ने प्रवृत्तिले चौतर्फी समस्या देखिएको उनको भनाइ थियो । मन्त्री खतिवडाले कोसी अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने तयारी सरकारले थालिसकेको जानकारी दिए । “कोसी अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने गरी प्रक्रिया अघि बढिसकेको छ,” उनले भने ।
त्यस्तै समारोहमा प्रदेश–१ स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशका १४ जिल्ला अस्पताललाई सहज जनशक्ति व्यवस्थापनको काम प्रदेश सरकारले थालिसकेको उल्लेख गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नागरिकहरू सेवा लिन आउनु नै कोसी अस्पतालप्रतिको विश्वास रहेको बताए । कोशी अस्पतालको विकासका लागि प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ थियो । यस्तै समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद पनि कोसी अस्पतालले प्रसूतिका लागि आउनेहरूलाई प्रभावकारी सेवा प्रदान गरिरहेको बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रा, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, अस्पतालकी मेट्रोन मञ्जु यादव, अस्पताल प्रशासन शाखाका नवराज लुइँटेललगायतले कोशी अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिएका थिए । वि.सं. १९४७ सालमा स्थापित कोसी अस्पतालमा प्रदेश–१ र मधेस प्रदेशका नागरिकहरू सेवा लिन आउने गर्दछन् । दैनिक एक हजारभन्दा बढीले अस्पतालबाट सेवा लिइरहेको मेसु दासले जानकारी दिए । १४ करोड १६ लाखको लागतमा निर्मित भवनमा ६१ बेड रहेको छ ।