स्टार्टअप प्रवद्र्धनमा जोड

स्टार्टअप व्यवसायमाथि नियन्त्रणमुखी सोच नराख्न सरकारलाई आग्रह गर्दै स्टार्टअप व्यवसायको नियमनमा प्रष्टता हुनुपर्ने, सरल वित्तीय पहुँच हुनुपर्ने, स्टार्टअप व्यवसायका चरणहरूबारे स्पष्ट हुनुपर्ने र नीतिगत सुविधा हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा कम्पनी दर्ताबाट नै समस्या सुरु हुने भन्दै युवाहरूलाई प्रोत्साहन गर्न झन्झटरहित कार्यसम्पादनको वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
नेपालको सन्दर्भमा स्टार्टअपको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघअन्तर्गतको स्टार्टअप अभियान समितिले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले नवीन सोच सहित व्यवसाय अघि बढाइरहेका उद्यमीहरूलाई नीतिगत सहजता र सहुलियत दिन तथा उनीहरूलाई प्रवद्र्धन गर्ने सोच राख्न सरकारलाई आग्रह गरेका हुन् ।
सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागे पनि यसको अहिलेसम्म स्पष्ट परिभाषासहित कार्यविधि तयार भएको छैन । सरकारले गत वर्षदेखि नै बजेटमा स्टार्टअपको प्रवद्र्धनका लागि बिउ पुँजी उपलब्ध गराउने घोषणा गरेको छ । तर कार्यविधि नबन्दा अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गरी नवीन सोच भएका युवा उद्यमीको प्रवद्र्धन गर्नुपर्नेमा परिसंघको जोड रहेको छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले औद्योगिक वातावरण निर्माण गर्नुका साथै उद्यमशिलता प्रवद्र्धनको उद्देश्य राखेर काम गरिरहेको जानकारी गराउँदै स्टार्टअपको प्रवद्र्धनका लागि नीति निर्मातासँग निरन्तर संवाद गरी उद्यमशिलता विकास गर्न पहल गर्ने बताए । उनले व्यवसाय सुरु गर्नुभन्दा व्यवसायको निरन्तरता चुनौतीपूर्ण हुने भन्दै स्टार्टअप व्यवसाय सुरु गर्ने उद्यमीलाई आफ्नो व्यवसायमा निरन्तर सक्रिय रहने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए ।
“उद्यमशिलता प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना हुनुपर्छ,” उनले भने, “अहिले धेरै नेपाली युवाले विदेशमा अध्ययन गरिरहेका छन् । उनीहरूलाई आकर्षित गर्ने वातावरण तयार हुनुपर्छ । उनीहरूको सोचलाई परिपक्व बनाउन सहज तरिकाबाट बीऊ पुँजी उपलब्ध गराइनुपर्छ ।”
अग्रवालले कार्यविधि तर्जुमा गर्दा देशभरका युवालाई समेट्न पनि आग्रह गरे । उनले अर्थतन्त्रको दिगो विकासका लागि स्टार्टअपको प्रवद्र्धनमा ध्यान दिन पनि सरोकारवालाहरूलाई आग्रह गर्दै नवीन सोचसहित व्यवसाय अघि बढाइरहेका उद्यमीहरूलाई नीतिगत सहजता र सहुलियत आवश्यक पर्ने हुनाले सरकारले उनीहरूलाई प्रवद्र्धन गर्ने सोच राख्नुपर्ने पनि बताए । उद्यमशिलता विकास गर्न सकेमात्रै अर्थतन्त्रको दिगो विकास गर्न सकिने भन्दै उनले नवीन सोच भएका उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी सरकारबाट सहयोग गर्न आग्रह गरे ।
परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्टार्टअप व्यवसायको प्रवद्र्धन नेपाली समाजको आवश्यकता भएको उल्लेख गरे । यस्तै, परिसंघअन्तर्गतको स्टार्टअप अभियान समितिकी सभापति आयुषी केसीले नेपालमा स्टार्टअप व्यवसायका सन्दर्भमा स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नवीन सोच र प्रविधि प्रयोग गरी व्यवसाय गरिरहेका २५ जना व्यवसायीहरूले स्टार्टअपको अवधारणामा स्पष्टता आवश्यक रहेको सुझाव दिएका थिए । उनीहरूले साना व्यवसाय र स्टार्टअपलाई एउटै हिसाबले बुझ्ने गरिएको भन्दै त्यसमा फरक छुट्टिने गरी परिभाषित गर्न पनि सरकारलाई सुझाव दिए । समितिले छलफलमा प्राप्त सुझावका आधारमा राष्ट्रिय योजना आयोगलाई आफ्ना सुझाव प्रस्तुत
गर्नेछ ।
छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले नवीन सोचको प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताए । उनले नवीन सोच र प्रविधिको प्रयोग गरी अघि बढ्ने यस्ता व्यवसायका लागि आवश्यक सहुलियत र सुविधा दिने विषयमा उदार भएर सोच्नुपर्नेमा पनि जोड दिए ।
“कतिपय अवस्थामा हाम्रो बुझाइमा समस्या हुन सक्छ, स्टार्टअपलाई कसरी परिभाषित गर्ने भन्ने सम्बन्धमा पनि फरक सोच हुन सक्छ,” उनले भने, “तपाईंहरू जो व्यवसायमा नै संलग्न हुनुहुन्छ, अझै फराकिलो हिसाबले सोच्नुस् । सबै व्यवसाय समेट्ने गरी परिभाषित गर्नेतर्फ सोच राख्नुस् ।” यसैगरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले स्टार्टअप व्यवसायको प्रवद्र्धनको विषयमा सरकारले खुला सोच राख्नुपर्ने बताए ।