Logo

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न कांग्रेसलाई खनालको चेतावनी

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।
सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो-याए । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौंतामा गम्भीर खालका राष्ट्रिय हित विपरितका कुराहरू रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्कसमेत गरे । सम्मानित नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेवल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे । उनले भने, ‘नेपालको हितलाई सर्वोपरी राखेर यो यो सम्झौंता सुरुमै भएन । नेपाली जनतालाई थाहा नै नदिइकन, राम्ररी अध्ययननै नगरीकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझिकन र त्यसका दस्तावेजहरू राम्रोसँग अध्ययन समेत नगरीकन नेपाली जनतालाई गुमराहमा राखेर यो सम्झौंता गरिएको हो । यो सम्झौता भित्र गम्भीर र गम्भिरतम राष्ट्रिय हित विपरीतका कुराहरू छन । त्यो कुरा नसच्चिकन र ती कुराहरूमा सुधार नभइकन एमसीसी पास हुन सक्दैन । कतिपय कुराहरू मिल्दैनन् । त्यसमा जब्बरजस्ती ठेल्न मिल्दैन । असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ? हुँदैन । यसको विरोध सरकारमा पनि हुन्छ । सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ ।’
नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्