राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ विद्यालय छानिए «

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ विद्यालय छानिए

खोटाङ- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोट भएका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ सामुदायिक विद्यालय छनोट गर्दा खोटाङबाट ६२ वटा विद्यालय परेका हुन् ।
जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेकोमा विभिन्न चार वटा कार्यक्रमका लागि ६२ वटा विद्यालय छानिएका हुन् । जसमा आइसीटी ल्याब व्यवस्थापनका लागि २४ वटा, ४ कोठे भवन निर्माणका लागि १८ वटा, २ कोठे भवन निर्माणका लागि १९ वटा र बाली विज्ञान विद्यालय स्थापनाका लागि एउटा विद्यालय छनोटमा परेको हो ।
जिल्लाबाट कार्यक्रमका लागि सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका ९ वटा विद्यालय छानिएका छन् । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसेलुखर्क, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका समान ८÷८ वटा, वराहपोखरी गाउँपालिकाका ५ वटा, साकेला, जन्तेढुंगा, रावाबेँसी र केपिलासगढी गाउँपालिकाका समान ४÷४ वटा विद्यालय छनोटमा परेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, बाली विज्ञान विद्यालय स्थापना (नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान) २८ लाख ४ हजार ५ सय ७० रकम उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले २०७७ सालबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्