एमसीसीबारे सांसदका फरक–फरक मत

अमेरिकी सहायता परियोजना एमसीसीबारे सांसदहरुले फरक फरक मत व्यक्त गरेका छन् । सत्तारुढ दलकै सांसदहरुले पनि एमसीसीको विरोध गर्दै यथास्थितिमा एमसीसी पारित गर्न नहुनेमा जोड दिएका छन् भने प्रतिपक्षी दलका सांसदले एमसीसी राष्ट्रघाती भएको तर्क गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद रावलले यस्तो बताएका हुन् ।
उनले एमसीसी सम्झौताको धारा ५ का उपधाराहरुमा अमेरिकाको वर्तमान कानून र भविष्यको कानून मान्नुपर्ने लेखेको उल्लेख गरिनुका साथै एमसीसीलाई सन्तुष्ट हुनेगरी भारतको सहमति लिएर योजना छान्नुपर्ने कुरा रहेकोले एमसीसी राष्ट्रघाती हुनुका साथै नेपालको स्वाधिनता र स्वाभिमानबिरोधी भएको बताए । सांसद रावलले एमसीए नेपालले विभिन्न मन्त्रालयहरुसँग सम्झौता गर्न उचित नहुने पनि बताए ।
नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले एमसीसी संशोधन र परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताए । उनले एमसीसीको विषयलाई संसदमा राष्ट्रिय सहमति अनुसार टेबुल गराइ छलफल गर्नुपर्ने बताए । नेता गुरुङले संसद अवरुद्ध भएकोले एमसीसीको विषय विधिको शासनलाई कार्यान्वयन गरेर संसदमा राष्ट्रिय सहमतिअनुसार टेबुल गर्नुपर्ने बताए । उनले संसद सुचारु रुपमा सञ्चालन नभएसम्म कुनै पनि राष्ट्रिय एजेण्डा संसदमा टेबुल गर्न नमिल्ने तर्क समेत गरे ।
नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिमा प्रमुख प्रतिपक्ष एमाले उपस्थित नहुनु आश्चर्यको कुरा भएको बताए । उनले नेकपा एमालेले नै एमसीसीलाई गिजोल्ने काम गरिरहेको आरोप लगाउँदै विषयको छलफलमा उपस्थित नहुनु आश्चर्यज्नक भएको बताए । सांसद श्रेष्ठले एमालेले कानून मन्त्रालय अन्तर्गत तत्कालीन केपी ओली नेतृत्वको सरकारले संसदमा लगेर पारित गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै तत्कालीन सरकारले संसदमा पारित नभइकन कार्यान्वयनको लागि हस्ताक्षर गरिसकेको समेत आरोप लगाए । उनले प्रमुख प्रतिपक्ष दलको हैसियतले एमालेले एमसीसीबारे आफ्नो धारणा स्पष्ट रुपमा राख्नुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले एउटा परियोजना स्वीकार नगर्दा सबै सहयोग बन्द हुन्छ भन्ने भ्रम पाल्न आवश्यक नरहेको बताए । उनले एउटै हिउँदले जाडो नजाने उल्लेख गर्दै एउटा सहयोगको परियोजना नलिँदैमा अमेरिकाले नेपालसँगको ७० वर्षे लामो मित्रता तोड्न नसक्ने बताए । सांसद कार्कीले नेपाल असंलग्न परराष्ट्र नीतिमा तटस्थ बस्नुपर्ने भन्दै संलग्न परराष्ट्रनीतिलाई अझ परिमार्जित गरेर जानुपर्ने उल्लेख गरे । सांसद कार्कीले एमसीसीलाई लिएर अहिले शीतयुद्ध शुरु भइसकेको भन्दै नेपाल असंलग्न परराष्ट्र नीतिमा तटस्थ बस्नुपर्ने बताए ।