एमसीसीमा राष्ट्रिय सहमति नभए माओवादीले सरकार छाड्ने «

एमसीसीमा राष्ट्रिय सहमति नभए माओवादीले सरकार छाड्ने

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्नुका साथै राष्ट्रिय सहमतिबिना एमसीसी अघि बढाइए सरकार छाड्ने चेतावनी दिएको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसदबाट पारित गर्न नसकिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए । उनले एमसीसी परियोजना अगाडि बढाउने हो भने राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु नभइकन कुनै पनि एजेण्डाहरु अगाडि बढ्न नसक्ने उनले स्पष्ट पारे । प्रमुख प्रतिपक्षलाई सदन सुचारु गर्न आग्रह गर्ने पनि उनले बताए ।
सत्तारुढ दलको सहमतीबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वत्ः तोडिने प्रमुख सचेतक गुरुङले बताए । गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उनले बताए । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्