Logo

विमानस्थलको धावनमार्ग विस्तार गर्न खुत्रुके अभियान

दाङ-तुलसीपुरमा रहेको एयरपोर्टको धावनमार्ग विस्तार गर्न नागरिकस्तरबाट खुत्रुके अभियान सुरु गरिएको छ । जिल्लामा सञ्चालनमा आएको ६७ वर्षसम्म पनि समयअनुसार स्तरबृद्धि नहुँदा तुलसीपुरको टरीगाउस्थित एयरपोर्टको स्तरवृद्धिका लागि सरकारलाई दबाब दिन एयरपोर्ट खुत्रुके खाता सञ्चालन गरिएको छ ।
एयरपोर्टको धावनमार्ग विस्तार गरी ठूला जहाज अवतरण हुने गरी स्तर वृद्धि गर्नका लागि नागरिक दबाब सृजना गर्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघले एयरपोर्ट खुत्रुके खाता सञ्चालनमा ल्याएको हो । नागरिक दबाबको यो अभियानमा सहयोग गर्न देश विदेशमा रहेका सबै नेपाली नागरिकलाई आह्वानसमेत गरेको छ । वाणिज्य बैंक तुलसीपुर शाखामा रहेको ४१६०१०००००००७०६० नम्बरको खातामा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ जम्मा गरेर सो खाता आम नागरिकका लागि सहयोग खुला गरिएको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ । “अहिले गरेनौं भने कहिल्यै हुंँदैन भनेर सरकारलाई थप बजेट विनियोजनका लागि दबाब सृजना गर्न यो अभियान सुरु गरेका हौं, यसलाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउन हाम्रो नेतृत्वदायी भूमिका हुनेछ,” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले भने । राष्ट्रिय सभा सदस्य कोमल वलीले पनि सो एयरपोर्ट स्तरोन्नतिको सन्दर्भमा तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा छलफल हँुदै आएको छ । यसमा जिल्लामा रहेका अन्य उद्योग वाणिज्य संघले पनि आवाज उठाउँदै आएका छन् ।
खुत्रुके अभियानको उद्घाटनमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले यो विमानस्थलको स्तरवृद्धि हुन नसक्नुमा यहींकै प्रभावशाली नेताको मुख्य भूमिका रहेको आरोप लगाए । अबको बजेटमा एयरपोर्टको स्तर वृद्धिका लागि आफूले अर्थपूर्ण पहल गरिरहेको बताए । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले अब तुलसीपुरको हवाइ सपना नरोकिने बताउँंदै आवश्यक परे निजी सरकारी अवधारणामा पनि एयरपोर्ट सञ्चालनका लागि आफू तयार रहेको बताए । तुलसीपुर उद्योग वाणिज्य संघले नागरिक दबाबका लागि थालेको यो अभियानमा पनि आफ्नो सधै सकारात्मक सोचसँंगै साथ र सहयोग रहने उनको भनाइ थियो । अब यहाँंको विमानस्थलमा इन्धन डिपो पनि चांँडै सञ्चालनको क्रममा रहेको भन्दै अन्य निजी कम्पनीका जहाजको सेवा पनि चांँडै सञ्चालन गर्न सबैको साथ र सहयोग रहनु पर्ने उनले बताए । यो विमानस्थलको स्तरवृद्धिमा आफू मौन नरहेको बताउँंदै उनले यो एयरपोर्टको स्तरवृद्धिलाई नारायणपुरमा विमानस्थल निर्माणको प्रकृयासँंग नजोड्न पनि आग्रह गरे ।
तुलसीपुरको दाङ विमानस्थललाई पाइलट एकेडमीका रुपमा विकास गर्नका लागि पनि सकारात्मक भएर प्रकृया अघि बढाउन आफू लागिरहेको पनि उनको भनाइ थियो । यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर विमानस्थलको स्थलगत नाप जांँच गरी तुलसीपुर उपमहानगरपालिकामार्फत इन्जिनियरले तयार पारेको प्रारम्भिक प्राविधिक प्रतिवेदन पर्यटन मन्त्रालयमा पठाइसकेको छ । त्यससंँगै इलाका वन कार्यालयका रेन्जरसहितको अर्को टोलीले धावनमार्ग विस्तार गर्दा त्यहांँका तरुण सामुदायिक वनमा रहेको झाडी सफाइको प्रारम्भिक प्रकृयासमेत सुरु गरिसकेको छ । अधिकांश बुट्यान र कुकाठ रहेको सामुदायिक वन क्षेत्रको झाडी सफाइ गर्दै स्थानीयस्तरबाटै एयरपोर्ट विस्तार क्षेत्रमा रहेको चिरो पुर्नेमा पनि सामुदायिक वनले प्रतिबद्धता जनाइसकेको छ । साथै आफ्नो वन
क्षेत्र विमानस्थलको स्तरवृद्धिका लागि दिने निर्णय भइसकेको सो सामुदायिक वन
उपभोक्ता समूहका अध्यक्ष शेषमणि भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्