खेलकुदको बजेट बढाउन आग्रह

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरी दिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराए ।
मंगलबार समितिको बैठकमा बोल्दै उहाँले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता राज्यमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।
मन्त्री गहतराजले बजेट अभावकै कारण खेलाडीहरुको मनोबल उच्च बढाउन र खेलकुद क्षेत्रको पूर्वाधार विकासका कामहरु अघि बढाउन नसकिएको पनि स्पष्ट पारे ।
उनले अदालतका अल्पकालिन आदेशका कारण पनि खेलकुद क्षेत्रको, युवाहरुलाई सशक्तीकरण गर्ने कार्यक्रमहरु अघि बढाउन समस्या भइरहेको स्मरण गराए । मन्त्री गहतराजले खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिनका लागि त्यसमा लगानी बढाउनुको विकल्प नरहेको पनि पटक–पटक दोहो-याए । उनले भने, ‘खेलकुद क्षेत्रमा लगानी बढाउने दिशामा संसदीय समितिको समेत ध्यान जानुपर्ने मैले देखेको छु । यो अन्तराष्ट्रिय जनसम्बन्धको क्षेत्र पनि हो । त्यसकारण यो क्षेत्रमा गरिने लगानी अनुत्पादक हुँदैन भन्ने कुरा समितिले चासो दिए लगानी वृद्धि हुने र त्यसबाट राम्रो प्रतिफल प्राप्त हुन सक्ला भन्ने मलाई लागेको छ ।’
बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुद क्षेत्रको गतिविधिलाई चलायमान हुने गरी आवश्यक ऐनहरु संशोधनको कामलाई अघि बढाइएको जानकारी समितिलाई गराउनु भयो । उनले सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण राष्ट्रिय खेलकुद परिषद्लगायतका निकायहरुको काम प्रभावित भइरहेको बताए ।
सचिव रेग्मीले खेलाडीहरुको मनोबल बढाउन र युवाहरुलाई सशक्तिकरण गरेर राष्ट्र निर्माणमा लगाउने खालका काम बजेटको अभावमा प्रभावकारी हुन नसकेको बताए ।