गोरखा अस्पतालमा विस्तारित सेवा सुरु

गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु गरिएको छ । फागुन १ गतेबाट विस्तारित स्वास्थ्य सेवा सुरु गरीएको हो । अस्पताल प्रशासनले मंगलबार पत्रकार सम्मेलन गर्दै विस्तारीत स्वास्थ्य सेवाका बारेमा जानकारी दिएको हो । यस सेवा अन्तरगत हरेक दिन दिउँसो ३ देखि ५ बजेसम्म विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर हरीकुमार श्रेष्ठले बताए ।
यस सेवाअन्तर्गत हाल प्रसूति तथा स्त्री रोग, शल्यक्रिया, बालरोग, मनोचिकित्सक र दन्त शल्यक्रियाका साथमा ल्याब सेवा उपलब्ध हुने उनको भनाइ छ । ‘अस्पतालमा २०७५ सालमा नै विस्तारित स्वास्थ्य सेवा सुरु गर्ने निर्णय भए पनि भौतिक पुर्वाधार तथा जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन’, श्रेष्ठले भने, ‘अहिले सुविधासम्पन्न नयाँ भवन बनेसँगै अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक रहेकाले सेवा सुरु गर्न सम्भव भएको हो ।’
स्वास्थ्य मन्त्रालयको निति अनुसार नै उपचारका लागि अस्पताल आइपुगेका बिरामीलाई उपचार विना नै फर्काउन नपरोस् भन्ने उद्देश्यका साथ सेवा सुरु गरिएको उनको भनाई छ । हाल अस्पतालमा बिहान १० बजेदेखी १ बजेसम्म मात्र ओपीडीका लागि टिकट काट्ने समय तय गरिएको छ । तर, सो समयपछि अस्पताल आइपुगेका बिरामीको पनि सहजताका लागि दिउँसो १ देखी ३ बजेसम्म विस्तारीत सेवाका लागि सेवाग्राहीले टिकट काट्न सक्नेछन् । उनीहरूलाई ३ बजेदेखि ५ बजेसम्म विस्तारीत सेवा दिने निर्णय भएको अस्पताल ब्यबस्थापन समितिले जनाएको छ ।
ओपीडी टिकट शुल्क ३० रुपैयाँ छ भने विस्तारित सेवाका लागि टिकट शुल्क ४ सय रुपैयाँ तय गरिएको छ । ओपीडीमा बिरामीको समस्या अनुसारका विशेषज्ञ भेट्न कठिनाई भएपनि विस्तारीत सेवामा अस्पतालमा उपलब्ध सम्बन्धित समस्या अनुसारको विशेषज्ञबाट सेवा दिइनेछ । यस सेवामा अल्ट्रासाउन्ड सेवाका लागि अतिरिक्त १ सय गरी ६ सय रुपैयाँ शुल्क कायम गरिएको छ भने अन्य सेवामा बढीमा ५० प्रतिशत मात्रै शुल्क थप गरिएको छ । विस्तारीत स्वास्थ्य सेवा लिँदा स्वास्थ्य बिमाको सुबिधा भने नपाइने डाक्टर श्रेष्ठले बताए । यस सेवाअन्तर्गत संकलन भएको रकम ३० प्रतिशत अस्पताल ब्यबस्थापन कोषमा र ७० प्रतिशत उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उपलब्ध गराउने ब्यबस्था छ । यसबाट अतिरिक्त आम्दानी पनि हुने भएकाले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक टिकाउन पनि सजिलो हुने विश्वास गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर श्रेष्ठले बताए । अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक ल्याउने पहल भैहरेको व्यवस्थापन समितिका अध्यक्ष बुद्धि दवाडीले बताए ।