संघको मागप्रति भारतीय केन्द्रीय मन्त्रीको आश्वासन

मंगलबार, मोरङ व्यापार संघले बथनाहा–जोगबनी सडकखण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शीघ्र सञ्चालनका लागि विगत एक महिनादेखि उठाउँदै आएको माग प्रतिभारतीय सडक, परिवहन तथा राजमार्गमन्त्री नीतिन गड्करीले सकारात्मकता दर्शाउँदै आगामी एक महिनाभित्र सो पुल पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन दिएको जनाएका छन् ।
नेपालस्थित भारतीय राजदूतावास मार्फत भारतका केन्द्रीय मन्त्री गड्करीले उक्त जानकारी गराएका छन् भने भारतस्थित नेपाली राजदूतावासले समेत संघको मागलाई भारतीय पक्ष समक्ष पेस गरी सकिएको जनाएको छ । त्यस सुखद् समाचार प्रतिसंघका अध्यक्ष नवीन रिजालले खुसी व्यक्त गर्नु भई उनीलगायत संघको सो पहल प्रतिसकारात्मक कदम चाल्नु हुने सबैमा आभार प्रकट गरेका छन् ।
नेपाली उद्योगी-व्यवसायीहरूले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दुःख भनी सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्ज पुलको विकल्पका लागि मोरङ व्यापार संघले विगत केही वर्षदेखि नेपाल र भारतका कैयौं निकायहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।
विगतमा आएका बाढीहरूका कारण मीरगञ्जपुल क्षतिग्रस्त हुँदा मुलुककै दोस्रो ठूलो नाका विराटनगर भन्सार कार्यालयमार्फत मालवाहक सवारी साधनहरूको आवागमन पटक–पटक अवरुद्ध हुँदै आएकोमा संघले तत्कालिक रूपमा भीमनगर–भन्टाबारी नाकामार्फत रि–रुट र क्षतिग्रस्त पुलको जीर्णोद्वार लगायतका कार्य गरी सवारी साधनहरूको आवागमन अस्थायी रूपमा सूचारु गराउँदै आएको छ ।
त्यसका साथै संघले त्यसको स्थायी समाधान स्वरूप मीरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायहरूमा जोडदार पहल गर्दै आएको थियो ।
विगत २ वर्षको छोटो अवधिमै उक्तनयाँ ४ लेनको पुलको निर्माण कार्य अन्तिम अवस्थामा आई पुगेको छ । यद्यपि, जनवरी २०२२ को पहिलो सातामा मीरगञ्ज पुल पुनः क्षतिग्रस्त भई सवारी साधनहरूको आवागमन ठप्प हुन गएकोमा संघका अध्यक्ष नवीन रिजालसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरी त्यसको समानान्तरमा अन्तिम अवस्थामा निर्माणाधीन नयाँ पुलको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न र तत्कालीन रूपमा सम्भव देखिएको सो पुलको अस्थायी सञ्चालनका लागि माग गर्दै आएको छ ।