Logo

मोबाइल सेवाको गुणस्तर मापदण्डभन्दा कमजोर

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा नगरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनअनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो ।
प्राधिकरणले नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकमको मोबाइल सेवाको परीक्षण गरेको थियो । तीनवटा कम्पनीमध्ये एनसेलको सेवा तुलनात्मक रुपमा सुदृढ देखिए पनि मापदण्डभन्दा कमजोर नै रहेको छ । परीक्षणमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा तीनवटै कम्पनी मापदण्ड पूरा गर्न असफल देखिएका छन् । निर्धारित मापदण्डअनुसार कल हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । यसमा एनसेल ५ सेकेन्डकै हाराहारीमा रहे पनि मापदण्ड भन्दा केही माथि छ । नेपाल टेलिकम दोस्रो रहेको छ भने स्मार्टको सेवा सबैभन्दा खराब रहेको पाइएको छ ।
प्राधिकरणका अनुसार मोबाइल सम्पर्क गर्दा प्राप्त हुने सफलता दर (कल सेटअप सक्सेस रेट) एनसेलको सबैभन्दा बढी ९२ प्रतिशत रहेको छ भने नेपाल टेलिकमको ८९ प्रतिशत र स्मार्टको ७२ प्रतिशत रहेको छ । तर, यो सूचकांकममा तीनवटै कम्पनी असफल भएका छन् । यसमा उत्तीर्ण हुन प्राधिकरणले ९९ प्रतिशतको मापदण्ड निर्धारण गरेको छ । मोबाइलबाट कल गर्दा सम्पर्क गर्न लाग्ने समय अर्थात् कल सेटअप टाइम अधिकतम ५ सेकेन्ड हुनुपर्नेमा एनसेलको औसत ६.२४ सेकेन्ड, नेपाल टेलिकमको ९.३२ सेकेन्ड र स्मार्टको ११.५४ सेकेन्ड रहेको छ । एउटा मोबाइलबाट कल गर्दा अर्कोमा ढिलो सम्पर्क हुने समस्याले सेवाग्राहीको समय खेर गइरहेको हुन्छ ।
यस्तै, कल ब्लक हुने अर्थात् कनेक्सन नै नहुने, कभरेज लगायतका समस्या देखिने सूचकांकमा अधिकतम दुई प्रतिशत मात्र मापदण्ड तोकिएको छ । तर, यसमा पनि तीनवटै कम्पनी असफल देखिएका छन् । प्राधिकरणका अनुसार टेलिकमको कल ब्लक रेट ११ प्रतिशत रहेको छ भने एनसेलको ८ प्रतिशत र स्मार्टको २८ प्रतिशत छ ।
कल ड्रप अर्थात् कुराकानी हुँदाहुँदै काटिने समस्या पनि टेलिकम कम्पनीहरूमा देखिन्छ । यस सूचकांकमा भने एनसेल उत्तीर्ण भएको छ । कल ड्रप दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा एनसेलको १.१८ प्रतिशत रहेको छ भने टेलिकमको ४.३८ प्रतिशत र स्मार्टको १० प्रतिशत रहेको छ ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले मोबाइल सेवाको गुणस्तर परीक्षणले सेवाको गुणस्तर मापदण्ड भन्दा कमजोर देखिएको उल्लेख गर्दै सम्बन्धित सेवा प्रदायक कम्पनीहरूलाई सुधारका लागि निर्देशन दिइने बताए । उनले राजधानीमै गुणस्तर परीक्षणमा मुख्य कम्पनीहरू असफल हुनुले यस क्षेत्रमा अझै सुधारको खाँचो रहेको देखिएको उल्लेख गर्दै प्राधिकरणले थप प्रभावकारी नियमन र अनुगमन गर्ने जानकारी दिए ।
प्राधिकरणका अनुसार पुस १६ मा नयाँ बानेश्वर, शंखमूल, ग्वार्को, इमाडोल, सानागाउँ, लुभु र लामाटारमा तथा १८ गते इमाडोल, ग्वार्को, सातदोबाटो, एकान्तकुना, धोबिघाट, बल्खु, कलंकी लगायतका क्षेत्रमा अध्ययन गरिएको थियो । यस्तै, १९ गते जमल, ज्ञानेश्वर, गौशाला तथा २० गते मित्रपार्क, टुसाल, कुमारीगाल, बौद्ध लगायतका क्षेत्रमा गुणस्तर परीक्षण भएको थियो । पुस २१ देखि २७ गतेसम्ममा उपत्यकाभित्रका कोटेश्वर, पुरानो सिनामंगल, चाबहिल, बौद्ध, जोरपाटी, थली, कपन र धुम्बाराही, सातदोबाटो, नखिपोट, कुसुन्ती, सानेपा, कुपन्डोल, बुङ्मती, च्यासिकोट, गोंगबु, धापासी लगायतका क्षेत्रमा अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्