Logo

कोभिड खोप उत्पादनको दुई प्रतिशतमात्र न्यून आय भएका देशमा

सन् २०२१ मा फाइजर, बायोएनटेक र मोडर्नाले ५४ अर्ब अमेरिकी डलर आय प्रक्षेपण गरे पनि उनीहरूले गरिब राष्ट्रलाई दिने खोपमा विभेद गरेको प्रतिवेदन सार्वजनिक भएको छ । हाल अधिकांश धनी राष्ट्रले पूर्ण मात्राको खोप अभियान पूरा गरी बुस्टर डोजसमेत दिइसकेका छन् । नेपालमा भने ७५ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाउन पाएका छन् । ती कम्पनीहरूले आफूले उत्पादन गरेको खोपको दुई प्रतिशतभन्दा पनि कममात्र खोप न्यून आय भएका देशहरूमा आपूर्ति गरेका कारण अहिले विश्वभर आलोचना भएको छ । चिनियाँ कम्पनी सिनोभ्याक र सिनोफार्मले न्यून आय भएका देशहरूलाई आफूले उत्पादन गरेको खोपको क्रमशः ०.४ प्रतिशत र १.५ प्रतिशतमात्र वितरण गरेका छन् । जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनेकाले भने आफ्नो स्टकमा रहेको खोपमध्ये ५० प्रतिशत न्यून र न्यून–मध्यम आय भएका देशहरूमा आपूर्ति गरेको एम्नेष्टी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । धनी राष्ट्रले उत्पादन गरेका मध्ये धेरै मात्रा खोपहरू बिक्री सम्झौताको रूपमा नभई उच्च आय भएका देशहरूबाट अनुदानको रूपमा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
विश्वभर आएको स्वास्थ्य संकटमा समेत अनुदान भन्दा पनि उत्पादक कम्पनीहरूले महामारीबीच नाफालाई प्राथमिकता दिइरहेको एम्नेष्टीले बताएको छ । उच्च आय भएका देश र खोप उत्पादकहरूले स्वास्थ्य आधिकारको दायित्व र जिम्मेवारीलाई मनन् गरेका भए सन् २०२१ को अन्त्यसम्ममा न्यून र न्यून–मध्यम आय भएका देशका १.२ अर्बभन्दा बढी मानिसहरूलाई खोप लगाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
कोभिड–१९ का कारण अहिलेसम्म ५६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको अवस्थामा पनि मानिसको जीवनभन्दा मुनाफालाई प्राथमिकता दिइनु अत्यन्तै चिन्ताजनक विषय रहेको प्रतिवेदनमा उल्लेख छ ।
एयरफिनिटी नाम गरेको विज्ञान तथा विश्लेषण सेवा प्रदायक कम्पनीले गरेको अध्ययनमा पनि सन् २०२१ मा एस्ट्राजेनेकाले करिब २.४ अर्ब खोप उत्पादन गरे पनि यसको १.७ प्रतिशत न्यून आय भएका देशलाई र ७० प्रतिशत न्यून–मध्यम आय भएका देशलाई आपूर्ति गरेको थियो । त्यसैगरी जोन्सन एण्ड जोन्सनले ३० करोडभन्दा बढी खोप उत्पादन गर्दा २० प्रतिशत न्यून आय भएका देशहरूमा र ३१ प्रतिशत न्यून–मध्यम आय भएका देशहरूमा वितरण गरेको छ । कोभिड–१९ विरुद्धको खोपको समान वितरणलाई सुनिश्चित गर्न आवाज उठाइए पनि एक शताब्दीमा एक पटक भएको विश्वव्यापी स्वास्थ्य तथा मानव अधिकार संकटको चुनौतीलाई सामना गर्न औषधी कम्पनीहरू चुकेको प्रतिवेदनमा उल्लेख छ । खोप निर्माता कम्पनीहरूले प्रविधिमाथि एकाधिकार जमाएको, बौद्धिक सम्पत्तिलाई एकआपसमा साझेदारी गर्न अवरोध खडा गर्नेमात्र हैन यसरी साझेदारी गर्नुपर्छ भन्ने अभिमतका विरुद्ध वकालतसमेत गरेको, खोपमा चर्को मूल्य लगाएको र धनी देशहरूमा खोप आपूर्तिलाई प्राथमिकता दिएको एम्नेष्टीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्