Logo

विमानस्थल स्तरवृद्धि गर्न दुई मन्त्रीबीच सहमति

जुम्ला विमानस्थलको धावनमार्ग स्तरवृद्धि गर्न दुई मन्त्रीबीच सहमति भएको छ । विमानस्थलको तीन सय मिटर धावनमार्ग तत्काल स्तरबृद्धि गर्न संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाबीच सहमति भएको हो ।
जुम्ला विमानस्थल स्तरोन्नति तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि सोमबार काठमाडौंमा दुई मन्त्रीबीच भएको भेटवार्तापछि तत्काल विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको मन्त्री रोकायाका स्वकीय सचिव अम्मर रोकायाले बताए । छलफलमा संघीय पर्यटनमन्त्री आलेले विमानस्थल स्तरोन्नति गरी ठूला जहाज अवतरण गराउने उद्देश्य अनुरुप धावनमार्ग विस्तारका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएको रोकायाले जानकारी दिए ।
पर्यटनमन्त्री आलेले विमानस्थलको धावनमार्ग विस्तारका लागि सर्वेक्षण गर्न तत्काल प्राविधिक टोली खटाउने बताएका छन् । धावनमार्ग विस्तारका लागि प्राविधिक टोलीको सर्वेक्षणपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाएर विस्तारको काम गरिने उनको भनाइ छ । जुम्लामा हवाई यात्रुको चाप बढ्दै गएको छ भने कर्णाली प्रदेशको सबैभन्दा व्यस्त विमानस्थलका रुपमा जुम्ला विमानस्थललाई चिनिन्छ । कर्णालीका भौतिक पूर्वाधारमन्त्री पदम रोकायाले जुम्लाको माग र आवश्यकतालाई हेरेर ठूला जहाज अवतरण गराउने उद्देश्यले विमानस्थल स्तरोन्नतिको पहल गरेको बताए । उनले भने, “तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तरोन्नतिको प्रक्रिया बढाउन पहल गरेको छु । संघका पर्यटनमन्त्री आले जुम्लाप्रति सकारात्मक देखिएका छन् । चालू आवकै विमानस्थल विस्तारको काम हुने आशा छ ।”
हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७५ मिटर छ । जसका कारण साना कार्गो जहाजमात्रै अवतरण हुँदै आएका छन् । तर यात्रुको चाप बढी नै हुने भएकोले धावनमार्ग १५ देखि १८ सय मिटरसम्म विस्तार गर्न सके ठूला जहाज सजिलै अवतरण गर्न सकिने सम्भावना छ । यद्यपि जुम्ला विमानस्थल विस्तारका लागि डीपीआर भएर गत वर्ष एक करोड बजेट विनियोजन भए पनि खर्च नभएर फ्रिज भएको जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्