Logo

विगूलाई संरक्षण क्षेत्रबाट हटाउन माग

दोलखा-गौरीशंकर संरक्षण क्षेत्र आयोजना कार्यालयक सिंगटीकै सामुन्ने कार्यालय रहेको विगू गाउँपालिकाको शनिबार भएको ९औं गाउँ सभाले आफ्नो गाउँपालिका क्षेत्रबाट संरक्षण क्षेत्र हटाउनका लागि विभागीय निकायमा माग गर्ने निर्णय गरेको छ । शनिबार बसेको गाउँ सभा बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाले यस्तो निर्णय गरेपछि संरक्षण क्षेत्र र स्थानीय तहबीच पहिलो पटक द्वन्द्व बढेको छ ।
आफ्नै गाउँपालिकाभित्र हिँडडुल गर्न र हरेक काम गर्नका लागि संरक्षण क्षेत्रको अनुमति लिनु पर्ने र संरक्षण क्षेत्रकै कारण ठूलो विकासका काम गर्न नपाएको र स्थानीयको परम्परागत पेसासमेत बन्द हुने भएपछि आफ्नो क्षेत्रबाट हटाउन माग गरेको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताए । विगू गाउँपालिका र संरक्षण क्षेत्र आयोजनाबीच केही महिनादेखि समस्या उत्पन्न हुन थालेको छ ।
“हाम्रो आलम्पूको थामी जातिको वर्षौंदेखिको ढुंगा निकाल्ने र बिक्री गरेर जीविका चलाउने परम्परागत पेसा हो,” उनले भने, “अहिले आएर संरक्षण क्षेत्रको नाममा खानी बन्द गर्ने धम्की आएको छ ।” यसले स्थानीयको पेसाको समेत संकट भयो ।
संरक्षण क्षेत्र आएपछि विकासको काम रोक्ने र स्थानीयलाई मुद्दा लगाउने मात्र काम भएको तर उसले केही पनि नगरेको आरोप छ । गौरीशंकर संरक्षण क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज र लाङलाङ राष्ट्रिय निकुञ्जको बीचको भू–भाग हो । जुन रामेछाप, दोलखा र सिन्धुपाल्चोकका माथिल्ला भू–भाग पर्छन् । यही क्षेत्रमा माथिबाट बग्ने खोला र नदीमा वर्षौं अघिदेखि अध्ययन भएका जलविद्युत आयोजना रहेका छन् ।
गौरीशंकर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा पर्छ । विगू गाउँपालिका उपाध्यक्ष सञ्जिव ओलीले अरु स्थानीय तह पनि गौरीशंकर संरक्षण क्षेत्रबाट रुष्ट छौं । पहिलो पटक हामीले निर्णय गरे पनि अब अरु स्थानीय निकायले पनि संरक्षण क्षेत्र आफ्नो क्षेत्रबाट हटाउन माग गर्ने बताए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख डा. मधु क्षेत्रीले भने हामी विकास विरोधी नभएको बताए । स्थानीय सरकारसँगै मिलेर काम गर्ने तर स्थानीय सरकारले पनि वातावरणीय कानुनलाई पालना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्