Logo

लाखौं रुपैयाँ हिनामिना गरी त्रिगंगा सहकारीका अध्यक्ष फरार

झापाको दमक नगरपालिका –७ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल फरार भएका छन् ।
सहकारीको ८० लाख रुपैयाँ बढी रकम लिएर खनाल गत मंसिरदेखि फरार भएको सहकारीका सदस्यले बताएका छन् । दमक–८ स्थायी घर भएका खनाल उपचार गर्न काठमाडौँ जाने भनेर फरार रहेका छन् । उनले सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख रुपैयाँ भन्दा बढी ऋण रकम लिएर फरार भएको बिषय बाहिरिएको हो ।
संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि अध्यक्ष खनाल सम्पर्कविहीन भएको सहकारीका सदस्य दमक ८ का ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । “म गत १ वर्षदेखि सहकारीको सदस्य रहेको छु” श्रेष्ठले कारोबार दैकिनसँग भने, “फिक्स डिपोजिट ३ लाख रुपैयाँ, खातामा राखेको १२ लाख लाख रुपैयाँ र बचत गरेर जम्मा १८ लाख रुपैयाँ रकम रहेको थियो । खनालले विश्वास बढाउँदै लगेपछि कारोबार पनि बढाएको थिए ।”
“खनाल मंसिर पहिलो हप्तासम्म सम्पर्कमा नै थिए । मैले फोन गर्दा बिरामी परेँ, घर बेचेर भएपनि सबैको पैसा तिर्छु भन्ने जवाफ दिए” श्रेष्ठ भन्छन्, “अहिले घर लिलामका लागि बैंकले सूचना निकालेको रहेछ । दमकमै रहेको किराना पसल पनि १० लाख रुपैयाँमा बिक्री गरिसकेका रहेछन् ।”
सहकारीका व्यवस्थापक ललिता तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूह गत पुस १ गते नै दमक नगरपालिकाको सहकारी समन्वय शाखा, इलाका प्रहरी कार्यालय दमक, इलाका प्रशासन कार्यालय दमकमा आवश्यक कारवहीको मागसहित निवेदन दिएका छन् ।
खनालले कोरोना महामारीको कारण भन्दै सहकारीको गत वर्षदेखि साधारण सभासमेत गरेका थिएनन् । अध्यक्ष बेपत्ता भएपछि विगत ४ वर्ष अघिदेखि सञ्चालनमा आएको सहकारीको कार्यालय गत मंसिर २९ गतेदेखि नै बन्द भएको छ ।
सहकारीका सदस्य कमल गाउँपालिकाका–४का दुरेन्द्र बहादुर नेम्बाङ सम्बन्धित निकायले आवश्यक कारवाहीको पहल नगरेको बताउँछन् । “हामीले कारवाहीका लागि विभिन्न निकायलाई गुहारे पनि कुनै सुनुवाई भएको छैन” उनले भने । नेम्बाङ विगत डेढ वर्षदेखि सहकारीको सदस्य बनेका थिए ।
पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लख, दमक–५ का राजु गौतमको चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको ६ लाख रूपैयाँ सापटी रकम लिएर खनाल फरार भएका हुन् । उनी श्रीमती र छोरीसहित फरार छन् ।
जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकाल सहकारीको आन्तरिक व्यवस्थापन पक्ष नबुझि बचत गर्नु बचतकर्ताकोसमेत गल्ति भएको बताउँछन् । “ब्याजदर धेरै पाउने लोभमा, आफन्त कर्मचारी भएकै कारण बचतकर्ताहरु नबुझि बचत गर्नु हुन्छ” ढकालले भने, “बचत गर्दा सञ्चालकको लगानी कति छ, सहकारीको अवस्था कस्तो छ भन्ने विषयमा बचतकर्ता सचेत हुनै पर्छ ।”
त्रिगङ्गा कृषि सहकारी संस्था जिल्ला सहकारी संघ झापामा समेत दर्ता नरहेको ढकाल बताउँछन् । “अहिले पनि आवश्यक भन्दा धेरै सहकारी भइसके” अध्यक्ष ढकालले भने, “सहकारीको नियमन गर्ने पहिलो निकाय बचतकर्ता हुन् । नबुझी लगानी गर्दा बचतकर्ता ठगिन पुग्छन् । ठगिएको खण्डमा कानुनी उपचारको बाटो सदस्यसँग छ ।” झापामा जिल्ला सहकारी संघमा दर्ता भएका सहकारीको संख्या ५ सय ९४ रहेको सहकारी संघले जनाएको छ ।
गत वर्ष मात्र झापाको दमक नगरपालिका क्षेत्राधिकार भित्र सञ्चालित नारायणी बचत तथा ऋण सहकारी संस्था, स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था, माइपश्चिम बचत तथा ऋण सहकारी संस्थाले करोडौं रुपैयाँ ठगी गरेको आरोपमा बचतकर्ताले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्