सिन्धुलीका किसान व्यवसायिक आलु खेतीमा आकर्षित

सिन्धुलीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।
कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएकाले आलु खेतीमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ९ काउँछेका डोर प्रसाद सुवेदी आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कमलामाई नगरपालिका ९ का वडा सदस्य समेत रहेका सुवेदी १० वर्षदेखि आलु खेती गर्दै आएको बताउँछन् । “म वडा नम्बर ९ को खुल्ला तर्फको वडा सदस्य पनि हो । विगत दश वर्षदेखि आलु खेती गर्दै आएको छु । व्यवसायिक रुपमै मैले आलु खेती गरेको छु ।
आलु खेतीबाट राम्रो आम्दानी पनि भइरहेको छ” उनले भने । अरु बालीको तुलनामा आलु खेतीबाट राम्रो आम्दानी हुने भएकाले त्यसतर्फ आकर्षित भएको उनले सुनाए । उनले हाल १० कठ्ठा जग्गामा आलु खेती गरेका छन् । उक्त खेतीबाट वार्षिक साढे एक लाख भन्दा बढी आम्दानी लिने गरेको सुवेदीले बताए ।
आलु खेती गर्ने सुवेदी मात्र नभइ कमलामाई नगरपालिका ९ काउँछेमा लगभग १५ विगा खेतीमा किसानले व्यावसायिक रुपमा आलु खेती गरेका छन् । काउँछे क्षेत्रलाई नगरपालिकाले आलु पकेट क्षेत्रसमेत घोषण गरेको छ । गहुँ र तोरी फल्ने बारीमा किसानहरूले व्यावसायीक रुपमा आलु लगाएका छन् । गहुँ, तोरी लगायतका अन्नबाली भन्दा राम्रो उत्पादन आलुबाट भएको भन्दै आलु खेती गर्न सुरु गरेको काउँछेकी सोभा ढुङ्गेलले बताइन् ।
“तोरी गहुँ भन्दा बढी फाइदा आलुबाट हुने रहेछ । त्यसैले हामीले आलु खेती गर्न थालेको हो । कम समयमा राम्रो आम्दानी आलुबाट हुने भएकाले यहाँका सबै नागरिक व्यवसायिक रुपमै आलु खेती गर्छन्” उनले भनिन् । ढुङ्गेलले १ बिगा खेतीमा व्यावसायिक रुपमा आलु खेती गरेकी छिन् । पाँच वर्षदेखि आलु खेती गरेको सुनाउँदै उनले आलु खेतीबाट वार्षिक दुई लाखसम्म आम्दानी गरेको बताइन् ।
उत्पादित आलुको बजारीकरणमा समस्या रहेको ढुङ्गेलले गुनासो गरिन् । उत्पादन भएको आलुले बजार पाए अझ धेरै आम्दानी लिन सक्ने उनको भना इछ । काउँछे क्षेत्रलाई नगरपालिकाले आलु पकेट क्षेत्र घोषण गरेपनि आलु खेतीमा केही सहयोग नगरेको उनले बताइन् । अनुदानमा पाइने आलुको बिउसमेत पर्याप्त नपाएको किसानको गुनासो छ । साथै उत्पादन भएको आलुको वजार व्यवस्थापन नहुँदा कम मूल्यमा आलु बिक्री गर्दै आएको उनीहरुले बताएका छन् । नगरपालिकाले उत्पादित आलुको बजारीकरण साथै कोल्ड स्टोर निर्माण गरे आफूहरु थप आलु खेती गर्न उत्प्रेरित हुने किसानको भनाइ छ ।
यता कमलामाई नगरपालिकाको कृषि संयोजक तथा उपप्रमुख मन्जु देवकोटा भने आलु खेती अनुदानका लागि काउँछेका किसानलाई विशेष प्राथमिकता दिएको बताइन् । काउँछेमा आलुको बिउ, विषादी साथै आवश्यक प्राविधिक खटाइरहेको उनको भनाइ छ ।
नगरपालिकामा तरकारी राख्नको लागि कोल्ड स्टोर रहेको भन्दै उनले किसानलाई उत्पादन गरेको तरकारी कोल्ड स्टोरमा राख्न ल्याउन आग्रह गरिन । उनले काउँछेको आलु खेती क्षेत्रको अनुगमन गरी आवश्यक पहल गर्ने बताइन् । सिन्धुली जिल्लाभर २ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । – उर्मिला भट्टराई