स्याङ्जामा सुरू भयो ई–पासपोर्ट

स्याङ्जा-जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ । सो कार्यालयले स्याङ्जामा औपचारिक रुपमा सोमबारबाट ई–पासपोर्टको सेवा सञ्चालनमा ल्याएको हो
जिल्ला प्रशासन कार्यालयबाट सेवा आरम्भ गरेको कार्यालयले इलाका प्रशासन कार्यालय वालिङबाट समेत ई–पासपोर्टको सेवा दिनका लागि तयारी भइरहेको स्याङ्जाका प्रजिअ राजुप्रसाद पौडेलले बताए ।
“सेवाग्राहीको मागलाई मध्यनजर गर्दै हामीले राहदानी विभागमा ई–पासपोर्ट सेवा तुरुन्त सञ्चालनको लागि अनुरोध गरेबमोजिम विभागको प्राविधिक टोलीआई सो सम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरी त्यसपश्चात ई–पासपोर्टको सेवा सुरु गरिएको छ” प्रजिअ पौडेलले भने ।
विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइनफर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्क हेर्ने इन्जिनियर हेमन्तकुमार शाहले बताए । ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने उनले बताए । ई–पासपोर्टका लागि फर्म भर्दा आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ ।
सेवाग्राहीले भरेको प्रि इनरोलमेन्ट फर्मको प्रिन्ट कपी र बैंकमा तोकिएको राजस्वजम्मा गरेको रसिद लिएर सेवाग्राही प्रशासन कार्यालय जानुपर्ने हुन्छ । ई–पासपोर्टको लागि कार्यालयमा सेवाग्राहीले बायोमेट्रिक्स र फोटो समेत खिचाउनुपर्ने इन्जिनियर शाहले बताए ।