कीर्तिपुर अस्पतालमा बालचिकित्सा वार्डको शुभारम्भ

कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ ।
सोमवार एक कार्यक्रमकाबीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले सुरुवाती चरणमा १५ शय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जर्मन अर्गनाइजेसनअन्तर्गत नेपाल मेटको सहयोगमा यो सेवा सुरु गरिएको बताए । उनले नेपाल मेटले सुरुवाती चरणदेखि नै अस्पताललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र त्यसैअन्तर्गत बाल चिकत्सा वार्डमा पनि सहयोग गरेको बताए ।
मेडिकल डाइरेक्टर ताम्राकारले भने, ‘हाम्रो कीर्तिपुर अस्पताललाई पहिलादेखि नै सहयोग गरिरहेको छ । जहिले पनि समस्या आएको बेलामा सहयोग गरिरहनु भएको छ । अस्पताल २००६ मा १५ बेडबाट सुरु भएको हो । अहिले हामी एक सय बेडको हाराहारीमा गइरहेका छौं । सर्भिस बिस्तार गर्दैछौं । अहिले हामीले ट्रमा वार्ड सञ्चालनमा ल्याउँदै छौं । ट्रमा टिम नै अहिले हामीसँग छ । अहिले बाल चिकित्सा वार्डलाई विकास गरिरहेका छौं । १५ बेडको राख्न लागेका हौं ।’
बाल चिकित्सा वार्ड उद्घाटन कार्यक्रममा अन्य वक्ताहरूले जर्मन सरकारले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।