प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाअभियोग : कोइराला

विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको बताएका छन् ।
नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा गरेको कार्यक्रममा नेता कोइरालाले आफूले पटकपटक न्यायालयलाई विवादमा नल्याउनका लागि निकास दिन सुझाव दिँदा प्रधानन्यायाधीशले नमानेको र अहिलेको समस्या आएको बताए । महाअभियोग आउनुमा सत्ता गठबन्धन, एमसीसी जस्ता विषयले पनि काम गरेको हुन सक्नेतर्फ उनले संकेत गरे । महाअभियोग टुंगो लाग्न ३–४ महिना लाग्ने उनको दाबी थियो । यद्यपि गठबन्धनसँग महाअभियोग पारित गर्ने मत नभएकाले के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको उनले बताए । सरकारका प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशहरूमा जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता नहुँदा समस्या आउने गरेको भन्दै लोकतन्त्रमा सबै कुराको महत्व रहेको उनले बताए ।
कार्यक्रममा साहित्यकार तथा समालोचक दधिराज सुवेदीलाई नोना कोइरालाई स्मृति प्रतिष्ठानले सम्मान गरेको थियो । प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले सुवेदीलाई माला, दोसल्ला र सम्मानपत्र प्रदान गरे ।