‘एमालेले न्यायाधीशहरूलाई महाअभियोग लगाउन मिल्दैन’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन् । नेता पौडेलले एमालेले संसद् विघटनको मुद्दामा आफूलाई हराएवापत सर्वोच्च अदालतको निर्णय विपरित सो महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरे ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौति दिनेगरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए । वरिष्ठ नेता पौडेलले सो प्रस्ताव एमालेले ल्याए सभामुख अग्नीप्रसाद सापकोटाले संसदबाट अस्विकार गरिदिने दावी समेत गरे ।
पौडेलले जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याएको दावी गरे । उनले यो प्रस्तावसँगै अव सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वास समेत व्यक्त गरे । वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकांक्षालाई पनि सत्तारुढ दलहरुले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पु-याएको बताए ।