कांग्रेस संसदीय दलको बैठक आज «

कांग्रेस संसदीय दलको बैठक आज

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए । सूचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताए ।
सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

यस विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बैठक सोमबार नै बसेको थियो । संसद् बैठक भने बुधबार बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्