४० वर्ष भारतीय जेलमा बसेका दुर्गाप्रसादले पाए आठ लाख क्षतिपूर्ति

झापा – भारतीय जेलमा कसूरमाथि विना सुनुवाइ ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति पाएका छन् ।
उच्च अदालत, कोकलाताको आदेश अनुसार उनले नेपाली ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकडभिट्टामा आयोजित कार्यक्रममा उनलाई क्षतिपूर्ति रकम बराबरको चेक हस्तान्तरण गरे ।
भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो ।
“उहाँलाई यो रकम राहत स्वरुप उपलब्ध गराईएको हो” महावाणिज्यदूत पौडेलले भने, “उहाँको पारिवारिक, मानसिक, शारीरिक अवस्थालाई मध्यनजर गरी हामीले समयसमयमा कोलकता हाईकोटलाई जानकारी गराई रहेका छौँ । अदालतले महावाणिज्यदूत मार्फत् उपलब्ध गराउने आदेश दिएकाले हामीले यो रकम उहाँलाई उपलब्ध गराएका हौँ ।”
पूर्णरुपमा क्षतिपूर्तिका लागि अदालती प्रक्रियामा प्रवेश गर्नु पर्ने पौडेल बताउँछन् । यसका लागि मुद्दा लड्न नेपाल सरकारले वकिल राखेर पुनः माग दावी लिएर जानुपर्ने उनी बताउँछन् ।
मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् ६ साताभित्र दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन भनेको थियो ।
तर रकम प्राप्त हुन अदालतले तोकेभन्दा बढी समय लागेको पौडेलले बताए । “धेरै पटक ताकेता गरेपछि शुक्रबार रकम प्राप्त भयो, यता अरु पनि कार्यक्रम भएकाले आफैं आएर हस्तान्तरण गर्न लागेको हुँ” उनले कारोबार सँग भने ।
क्षतिपूर्ति रकम पाउने भएपछि दुर्गाप्रसाद भतिजा गोपाल तिम्सिनासँग काँकडभिट्टा आएका थिए । उनीसँगै दुर्गाप्रसादका नातेदार प्रदेश सांसद धिरेन्द्र शर्मा पनि कार्यक्रममा सहभागी थिए ।
क्षतिपूर्ति रकम पाएपछि भतिजा तिम्सिनाले खुशी व्यक्त गरे । “थोरै रकम भएपनि ठूलोबुबाका लागि यो ठूलो सहयोग हो, यो पैसाले के गर्ने भन्ने टुंगो लागिसकेको छैन” तिम्सिनाले भने ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए ।
आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।
दुर्गाप्रसाद अहिले विराटनगरस्थित मानव सेवा आश्रममा उपचारको क्रममा छन् । उनी सामान्य कुराकानी गर्न सक्ने अवस्थामा पुगेका छन् ।