Logo

स्वदेशी बियरबाट १३ अर्ब ६४ करोड अन्तःशुल्क


सरकारले चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा नेपालमा उत्पादित बियरबाट साढे १३ अर्ब रुपैयाँभन्दा बढी अन्तःशुल्क संकलन गरेको छ । पुस मसान्तसम्ममा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड रुपैयाँ अन्तःशुल्क असुल गरेको सरकारले बियरबाट १३ अर्ब ६४ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको हो । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ४८.८५ प्रतिशत बढी हो । अघिल्लो आवको ६ महिनामा सरकारले देशमै उत्पादन भएको बियरबाट ९ अर्ब १६ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको थियो ।
सरकारले बियरमा अन्तःशुल्क बढाउनुका साथै उत्पादन र खपत पनि बढेकाले अन्तःशुल्क बढी उठेको आन्तरिक राजस्व विभागमा सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए । प्रतिलिटर बियरमा १६५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा यस वर्ष बढाएर १९५ रुपैयाँ पु-याइएको छ ।
चालू आर्थिक वर्षमा कोरोनाले ठप्प भएका उद्योग सुचारु हुँदा उत्पादन र खपत बढेको छ । “‘एक त अन्तःशुल्कको दरमा केही परिवर्तन भयो । त्यसमाथि आर्थिक गतिविधिहरु सुचारु हुँदा उत्पादन र खपत पनि बढ्यो,” प्याकुरेलले भने ।
त्यस्तै, मदिराबाट सरकारले ६ महिनामा १३ अर्ब ८६ करोड अन्तःशुल्क उठाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । चालू आर्थिक वर्षको ६ महिनामा सरकारले चुरोट र सुर्तीबाट ११ अर्ब ९१ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको ६ महिनामा ९ अर्ब २२ करोड संकलन गरेको सरकारले चुरोट र सुर्तीबाट यस वर्ष २९ प्रतिशतभन्दा धेरै कर उठाएको हो ।
अन्तःशुल्क अन्तर्गत पर्ने अन्य उत्पादनहरुबाट पनि सरकारले पुस मसान्तसम्ममा राम्रो आम्दानी गरेको छ । गत वर्ष ७ अर्ब ६९ प्रतिशत अन्तःशुल्क उठाएको सरकारले यस वर्ष अन्य उत्पादनबाट ११ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ ।
चालू वर्षको पहिलो ६ महिनामा सरकारले आन्तरिक उत्पादनबाट संकलन गरेको अन्तःशुल्क अघिल्लो आर्थिक वर्षको भन्दा ३४.०४ प्रतिशत बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत वर्ष सोही अवधिमा सरकारले ३७ अर्ब ८४ करोड रुपैयाँ अन्तःशुल्क आन्तरिक उत्पादनबाट उठाएको थियो । यस वर्ष आन्तरिक उत्पादनबाट ५० अर्ब ७२ करोड रुपैयाँ अन्तःशुल्क उठाएको सरकारले पैठारीबाट ३४ अर्ब ५१ करोड गरी कुल ८५ अर्ब २३ करोड रुपैयाँ संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्