Logo

याक एण्ड यती बन्द गर्ने पर्यटन विभागको निर्णय


पर्यटन विभागले पाँच तारे होटल याक एण्ड यती बन्द गर्न निर्णय गरेको छ । क्यासिनो सञ्चालन गरेर होटलले सरकारलाई रोयल्टी भुक्तानी नगरेको भन्दै विभागले होटल बन्द गर्ने निर्णय गरेको छ ।
विभागले २८ माघमा सूचना जारी गरेर क्यासिनो सञ्चालनगरेवात लामो समदेखि रोयल्टी नबुझाएकाले याक एण्ड यती होेटलको नाममा जारी भएको क्यासिनो सञ्चालनको इजाजत पत्र रद्द गर्ने र होटलको पाँच तारेस्तरको स्तर वर्गीकरण प्रमाण पनि रद्द गर्ने जनाएको छ । यस्तै होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका खाता तथा वित्तीय कारोवार रोक्का राख्ने पनि विभागले जनाएको छ ।
पर्यटन विभागको मिति २०४८ मंसिर २२ को पत्र बमोजिम याक एण्ड यति होटलले क्यासिनो सञ्चालन इजाजत लिएकोमा तेस्रो पक्ष (गिल्ट इन्भेष्टमेन्ट प्रालि) सँग सम्झौता गरी आफूले प्राप्त इजाजतपत्र बापतको क्यासिनो सञ्चालन गर्न जिम्मा दिएको विभागको सूचनामा भनिएको छ । सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर क्यासिनो सञ्चालन वापतको रकम कानूनबमोजिम दाखिला नभएको विभागको दावी छ ।
क्यासिनो नियमावली, २०७० को नियम ३७ बमोजिम क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त कम्पनीले सो नियमावली प्रारम्भ भएको मितिले नौ महिनाभित्र इजाजतपत्रको निवेदन नदिएका कारण २०७१ वैशाख ५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयले याक एण्ड यति होटलको क्यासिनो इजाजतपत्र खारेज भएको थियो । तर सरकारको निर्णयविरुद्ध क्यासिनो सञ्चालकले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत क्यासिनो सञ्चालन गर्न अनुमति दिएको थियो ।
२०७५ असार १२ गतेको सर्वोच्चको फैसलामा याक एण्ड यति होटलले सरकारलाई बुझाउनुपर्ने दायित्व उसकै हुने उल्लेख छ ।
विभागबाट विभिन्न आर्थिक वर्षको लेखापरीक्षण हुँदा कायम भएको वक्यौता बेरुजुमध्ये कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा लगत कसिएको समेत जम्मा बेरुजु वक्यौता ४२ करोड २५ लाख ६८ हजार दाखिला हुन नआएको पनि विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्