निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्णयप्रति निजी क्षेत्रको आपत्ति

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा हालै कायम गरेको व्याज दरप्रति निजी क्षेत्रले आपत्ति जनाएको छ ।
अर्थतन्त्रमा एकपछि अर्को समस्या आइरहेका बेला निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थाको निर्णयले ब्याजदर वृद्धिबाट बजारमा तरलता थप भइ हालको समस्या समाधान नहुने उनीहरुको ठहर छ ।
नेपाल उद्योग परिसंघले व्याजदर वृद्धिको निर्णयले निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायीत्वमा जोखिम बढ्ने जनाएको छ । ब्याजदर वृद्धि भएसँगै कोभिडलगायत विविध कारणले समस्यामा परेका उद्योग, कृषि, पर्यटन व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने परिसंघको दावी छ । ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्दा उपभोक्तालाई समेत नकारात्मक असर पर्ने देखिएको छ भन्दै परिसंघले वर्तमान अवस्थामा शिथिल प्राय भएका उद्योग व्यवसाय थप कमजोर हुने जनाएको छ ।
यस्तै नेपाल चेम्वर अफ कमर्सकले आयातित वस्तुहरुमा एलसीबाट हुने कारोबारमा सतप्रतिशत नगद मार्जिन राख्नु पर्ने प्रावधानले व्यावसायिक क्षेत्रलाई चुनौती भइरहेको बेलामा ब्याजदर वृद्धि हुँदा थप दवाव बढ्ने जनाएको छ ।
कोभिड १९ को महामारीले उद्यमी व्यवसायी आक्रान्त भएको समयमा निक्षेपको व्याजदर वृद्धि गर्ने निर्णयले व्यवसायिक गतिविधि शिथिल बनाउने चेम्बरको ठहर छ । आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नुपर्ने र रेमिट्यान्सको चुहावट रोक्नुपर्ने बेलामा व्यवसायलाई प्रतिकूल हुने गरी लागू गरिएको बैंकिङ तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने तथा वस्तुहरुको उपभोग्य मूल्य बढाउने भन्दै चेम्बरले प्रतिस्पर्धी क्षमतामा ह«ास आएर निर्यात उद्योग धराशायी हुने र राजस्वमा समेत असर पर्ने दावी गरेको छ ।
ब्याजदर वृद्धिले दीर्घकालीन रुपमा मुलुकको अर्थतन्त्रलाई समस्याग्रस्त पार्ने र तरलता समस्या समाधानका वैकल्पिक उपाय हुँदा हुँदै व्याजदर वृद्धिमार्फत तरलताको दीर्घकालीन समाधान नहुने चेम्बरको ठहर छ ।