निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न जुटिसकेका छौं : आयोग «

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न जुटिसकेका छौं : आयोग

आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ ।
आयोगद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव गोकर्णमणि दवाडीले निर्वाचनलाई सफल तुल्याउन सघन तयारीमा जुट्नका साथै कार्यतालिकासमेत स्वीकृत गरिसकेको जानकारी दिए । निर्वाचनको अन्तिम मतदाता नामावली तयारी गर्ने, सामग्रीको व्यवस्थापन गर्ने, राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्नेलगायतका क्रियाकलाप निर्वाचन कार्यतालिकामा समेटिएको छ ।
निर्धारित मतदानस्थलमा मतदान केन्द्र तोक्ने, निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने कार्यतालिका छ । मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचयपत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्नेलगायतका क्रियाकलाप समावेश गरी कार्यतालिका स्वीकृत गरिएको प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको परामर्शमा उक्त मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सरकारले मिति घोषणा गरिसकेको छ ।
निर्वाचन व्यवस्थापकीय कार्य गर्न आयोगलाई १२० दिन आवश्यक भए पनि मिति घोषणा गर्दा ९५ दिनको अवधि प्राप्त थियो । आयोगको प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरिवेक्षण र निर्देशनमा रही बालिग मताधिकारका आधारमा हुने निर्वाचनका लागि १८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता हुन पाउने अधिकारको सुनिश्चिता गरिएको छ । मतदाता नामावली सङ्कलन नियमितरूपमा हुँदै आएकामा निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य गत पुस २५ गते नै स्थगित भएको छ ।
संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेको छ । आयोगका अनुसार निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन वैशाख २९ गते अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति निर्धारण गरेको छ । सो व्यवस्थाले करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्