गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रचण्ड

जनकपुर-पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताएका छन् । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आइतबार जनकपुरधाममा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताए ।
उनले भने, ‘गठबन्धन बनेदेखि नै प्रतिक्रियावादी, पूरा राजा महाराजा गठबन्धन भत्काउने षड्यन्त्रमा लागेका छन् । त्यो षड्यन्त्र अझै पनि जारी छ, तर हामी यो गठबन्धनलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ, त्यसैले उनीहरुको त्यो सपना कहिले पूरा हुँदैन ।’ संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गरे । ‘प्रदेशको नाम मधेस प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिकरूपमै ‘जनयुद्ध’ दिवस आयोजना गरेर मधेस प्रदेश सरकारले ऐतिहासिक स्वागतयोग्य काम गरेको भन्दै उनले यसबाट देश र विदेशलाई नयाँ सन्देश गएको बताए ।